मोरङमा बेहोस भेटिइन् बालिका, अस्पताल पुर्याउनसाथ मृत्यु

मंगलबार, २९ असोज २०८१
विराटनगर : मोरङको सुनवर्षीमा बेहोस अवस्थामा भेटिएकी बालिकाको मंगलबार मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुबिरहेको अवस्थामा भेटिएकी सुनवर्षी नगरपालिका–६ की १५ वर्षीया प्रीतिकुमारी पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार घरदेखि अन्दाजी ६ सय मिटर उत्तर–पूर्वस्थित डाइनिया–अमरदह भित्री सडक खण्डको पानी जमेको खाल्डोमा मंगलबार बिहान ११ बजेतिर घोप्टो परेको अवस्थामा बालिकालाई फेला पारिएको थियो । अचेत अवस्थामा भेटिएकी बालिकालाई उद्धार गरेर उपचारका लागि रंगेली अस्पताल लगियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी ओलीले दिए । प्रहरीका अनुसार बालिका बिहान घरबाट साइकलमा निस्किएकी थिइन् । घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा पानी जमेको खाल्डोमा घोप्टो परेको अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ । साइकल भने सडकमै लडिरहेको अवस्थामा फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्तपालमै राखिएको छ । मृतक प्रीतिकुमारीका बुवा रामप्रसाद पासवान वैदेशिक रोजगारीमा दुबईमा रहेको प्रहरीले जनाएको छ । छोरीको मृत्युको खबर सुनेपछि उनी नेपाल फर्किने तयारीमा रहेको बताइएको छ । बुवा आएपछि मात्रै शवको पोस्टमार्टम गर्ने तयारी प्रहरीले गरेको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी इन्स्पेक्टर ओलीले दिए । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार