महिला टी-२० विश्वकप २०२४:सेमिफाइनलको समीकरण पूरा 

बुधबार, ३० असोज २०८१
किशोर पोखरेल काठमाडौँ  : आइसिसी महिला टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा पुग्ने टिमहरू तय भएका छन् । समूह ‘ए’ बाट अस्ट्रेलिया र न्युजिल्यान्ड भने समूह ‘बी’ बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेका छन् । वेस्ट इन्डिज महिला टिमले हिजो भएको रोमाञ्चक खेलमा इङ्ग्ल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गर्‍यो । यस हारसँगै इङ्गल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ मा इङ्गल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज तीनै टिमको समान ६–६ अङ्क भए पनि नेट रन रेटको आधारमा वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगे । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको उक्त निर्णायक खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो । इङ्ग्ल्याण्डका लागि नट सिभर ब्रन्टले ५७ रनको योगदान दिइन् भने कप्तान हेदर नाइट २१ रन बनाएर रिटायर्ड हर्ट भइन् । अन्य ब्याटहरूले खास प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजका लागि अफी फ्लेचरले ३ विकेट र कप्तान हेले म्याथ्युजले २ विकेट लिए । वेस्ट इन्डिजले १४२ रनको लक्ष्यलाई १८ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो । वेस्ट इन्डिजकी कप्तान हेले म्याथ्युजले ५० रन बनाइन् भने अर्की ओपनर कियाना जोसेफले ५२ रनको योगदान गरिन् । इङ्ग्ल्याण्डका लागि सोफी इकलस्टोन, सराह ग्लेन र नट सिभर ब्रन्टले समान १–१ विकेट लिए । अब दोस्रो सेमिफाइनलमा वेस्ट इन्डिज महिला टिमले न्युजिल्यान्ड महिलासँग प्रतिस्पर्धा गर्नेछ भने पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका महिला टिमले अस्ट्रेलिया महिलासँग खेल्नेछ । अस्ट्रेलिया साबिक विजेता तथा ६ पटकको महिला टी-२० विश्वकप विजेता टोली हो भने वेस्ट इन्डिज एक पटकको विजेता टोली हो । न्यूजील्यान्ड २ पटक तथा दक्षिण अफ्रिका १ पटक फाइनल पुगेका छन् तर विश्वकप जित्न भने सकेका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार