विराटनगर । विराटनगरमा एक जना व्यक्तिले आफ्नै नाबालिका छोरीलाई ३ दिनदेखि बन्धक बनाएर राखिरहेको घटना बाहिर आएको छ ।
आफ्नै बाबुले ४ वर्षीया नाबालिकालाई घरभित्रै बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ ।
नाबालिकालाई शुक्रबार राति सकुशल उद्धार गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार विराटनगर महानगरपालिका–९ भानु टोलका ३२ वर्षीय सुनील सहनीले गत मंगलबारदेखि नानीलाई घरभित्रै बन्धक बनाएर राखेका हुन् ।
बाबुले केही पनि खान नदिइ र घरबाट बाहिरसमेत निस्किन नदिइकन नाबालिका छोरीलाई बन्धक बनाएर राखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शुक्रबार दिउँसैदेखि बारम्बार उद्धारको प्रयास गरे पनि प्रहरी सफल भइरहेको थिएन । छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश गर्न नदिँदा तत्काल उद्धार सम्भव नभएको जोशीको भनाइ छ ।
‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । हातमा चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि चक्कुले घाँटी रेटेर मर्छु भनेर भन्थे ।
स्थानीय र जनप्रतिनिधिसहितको सहयोगमा केहीबेर अघि छोरीलाई सकुशल उद्धार गर्न सफल भइयो । नाबालिकाको उद्धार गरिएपछि सम्भावित जोखिम टरेको छ । अब बाबुलाई पनि बाहिर निकाल्ने प्रयास गरिरहेका छौं,’ उनले भने ।
सुनीलले कोठाको ढोका खोल्न नमानेपछि प्रहरीले फोड्ने तयारी गरेको थियो । तर, कुनै अप्रिय घटना नहोस् भनेर सावधानी अपनाउँदै फकाएर नाबालिकालाई बाबुको कब्जाबाट फुत्काउन प्रहरी सफल भएको जोशीको भनाइ छ । उनका अनुसार नाबालिकालाई हजुरआमाको जिम्मा लगाएर पठाइएको छ ।
प्रहरीका अनुसार लामो समयसम्म फकाएपछि नाबालिका छोरीलाई सुनीलले ढोकामाथिको खाली ठाउँबाट बाहिर दिएका थिए । बाहिर ननिस्किने अडान राखेका उनी भने घरको कोठाभित्रै रहेकाले निगरानीका लागि प्रहरी खटाइएको डीएसपी जोशीले बताए । अब सुनीललाई कसरी घरबाट बाहिर निकाल्नेभन्ने तर्फ प्रहरी केन्द्रित भएको उनले बताए ।
सादा पोसाकका प्रहरी र स्थानीयले सुनीलको घर वरपर निगरानी गरिरहेका छन् । नाबालिका छोरीलाई घरभित्रै बन्धक बनाएर राख्नुको कारण थाहा नभएको र यस विषयमा थप अनुसन्धान भइरहेको जोशीले बताए । घरभित्र बन्धक बनाएर राखे पनि छोरीलाई भने केही नगरेको उनले बताए ।
सुनीलकी पत्नी (श्रीमती) भने केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । ‘घरमा नाबालिका छोरीलाई लिएर सुनील बस्थे । तर, ३ दिनदेखि चैं नानीलाई बाहिरसमेत निस्कन नदिइकन घरभित्रै थुनेर राखेको पाइयो ।
कसैले अवरोध गरेमा छोरीलाई पनि मारिदिने र आफू पनि मर्ने भनेर त्रास देखाउन थालेपछि आत्तिएर स्थानीयले घटनाको जानकारी दिएका रहेछन्,’ डीएसपी जोशीले भने । अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।
प्रतिक्रिया