डेरा बसेको कोठाभित्र मृत फेला परे प्रहरी जवान

शनिबार, १० कार्तिक २०८१
विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ३१ वर्षीय योगेन्द्रकुमार कार्की डेरा बसेको कोठाभित्रै मृत फेला परेका छन् । कार्की विराटनगर महानगरपालिका–१ शान्ति चोकस्थित एउटा घरमा डेरा बस्थे । शनिबार राति ८ः१० बजेतिर झुन्डिएको अवस्थामा मृत फेला पारिएको मोरङ प्ररहीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए । कार्कीको घर संखुवासभाको मादी नगरपालिका–१ हो । कोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको शव फेला परेको जानकारी जोशीले दिए । जिल्ला प्रहरी कार्यालय मोरङमै कार्यरत कार्कीकी श्रीमती इन्दु थापाले छुट्टी भएर कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर प्रहरीलाई खबर गरेकी हुन् । त्यसलगत्तै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया नेतृत्वको टोलीले घटनास्थल पुगी ढोका फुटाएर हेरेको थियो । परिवारका सदस्यलाई खबर भइसकेको डीएसपी जोशीले बताए । अहिलेलाई शव नचलाइकन घटनास्थल सुरक्षित राखिएको र आफन्त आइपुगेपछि आइतबार बिहानबाट कानुनी प्रक्रिया सुरु गरिने उनको भनाइ छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ सय मिटर उत्तरमा पर्छ । शवको पोस्टमार्टम गरेर अनुसन्धान अघि बढाएपछि घटनाको कारण प्रष्ट हुने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार