नवलपरासी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताएका छन् ।
आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताएका हुन् ।
“तपाईँहरूको लगानीमा कुनै सुरक्षाको खतरा छ भने त्यो मलाई भन्नुस्”, उनले भने, “सुरक्षाको ग्यारेन्टी गर्छौँ ।”
निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उनले बताए ।
गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐन कानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको उनले बताए ।
उनले महोत्सवहरूले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उनले बताए ।
भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रूपमा त्रिवेणी कोरला नाका भएकाले पूर्वाधार निर्माण र सडक स्तरोन्नति गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको सुझाव छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरू छन् ।
प्रतिक्रिया