विराटनगर । पहिचान पक्षधरले कोशी नामकरणविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । कोशी नाम खारेजीको माग गर्दै पहिचान पक्षधर आन्दोलित छन् ।
पहिचानको आवाज उठाउँदै आएको 'प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति'ले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै औपचारिक हिसाबले आन्दोलन घोषणा गरेको हो । यसअघि आइतबार विराटनगरमा शक्ति प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरिएको थियो ।
समितिले आगामी फागुन १७ गतेलाई कालो दिवसका रूपमा मनाउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । समितिले चैत १० गतेसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकनको प्रक्रिया सुरु नगरे थप संघर्ष चर्काउने चेतावनी दिएको छ ।
आन्दोलनका कार्यक्रममा प्रदेशसभा, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने उल्लेख छ । तत्कालीन केदार कार्की नेतृत्वको सरकारले गठन गरेको सरकारी वार्ता टोलीसँग सहमति भएपछि पहिचान पक्षधरबाट शान्तिपूर्ण गतिविधि गर्ने कुरा आएको थियो ।
अब भने कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य (प्रदेश सांसद) लाई निषेध गर्ने घोषणा समितिले गरेको छ । समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको हो ।
विभिन्न ठाउँमा लेखिएको प्रदेशको नाम ‘कोशी’ मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेको छ । कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने र नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाउने समितिको चेतावनी छ ।
कोशी प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतबाट २०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम ‘कोशी’ राखिएको थियो । प्रदेशको नामकरणसँगै पहिचान पक्षधर आन्दोलित छन् ।
आन्दोलनमा सहभागी हुँदै आएका पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भएको थियो । आन्दोलनका क्रममा १ सय ५० जनाभन्दा बढी आन्दोलनकारी र केही सुरक्षाकर्मी घाइते भएका थिए ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया