विराटनगर । पूर्व–पश्चिम राजमार्गमा सवारीसाधनको चाप अत्यधिक हुन्छ । सवारी चाप बढेकैले सडक साँघुरो हुन थालेको छ ।
हुन त उक्त राजमार्ग स्तरोन्नतिको काम पनि भइरहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङ खण्डमा पछिल्लो समय सवारी दुर्घटना तीव्र गतिमा बढिरहेको छ । दुर्घटना अत्यधिक हुँदा मानवीय र भौतिक क्षति पनि धेरै भइरहेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुन्दरहरैँचाको बूढी खोलादेखि उर्लाबारीको मावा खोलासम्मको करिब ३६ किलोमिटर सडकमा पछिल्लो १० दिनभित्र १७ वटा सवारी दुर्घटना भएका छन् । यो तथ्यांक मंसिर १ देखि १० गतेसम्मको हो । विभिन्न दुर्घटनामा परेर ८ जनाको मृत्यु भइसकेको छ ।
दुर्घटनामा १९ जना घाइते भएको भएको जोशीले बताए । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । ‘घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,’ डीएसपी जोशीले भने, ‘अधिकांश दुर्घटनामा मोटरसाइकल परेका छन् ।’ सडकको खराब अवस्था र तीव्र गति एवं लापरबाहीका लागि दुर्घटना बढेको पाइएको उनको भनाइ छ ।
पथरीशनिश्चरे नगरपालिका–२ सुनझोडा पुलमा मंसिर १ गते दिउँसो २ः३० बजेतिर बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भयो ।
पथरीशनिश्चरे नगरपालिका–१ जाँते मोडमा मंसिर २ गते बिहान ११ः२० बजेतिर अर्को दुर्घटना भयो । पानी बोकेर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ३५९२ नम्बरको पिकअप गाडीले पश्चिमतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ मोटरसाइकललाई बिहान ११ः२० बजेतिर ठक्कर दियो ।
अनियन्त्रित बनेको मोटरसाइकल पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का २८ वर्षीय रमेश खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार उदयपुरको चौदण्डीगढी नगरपालिका–२ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भइन् । उनको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मंसिर ६ गते अपरान्ह ४ः४५ बजेतिर दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भयो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ९२२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा पथरीशनिश्चरे–४ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका–४ रमाइलोका २८ वर्षीय किशोर गुरुङ र झापाको दमक नगरपालिका–१० का २८ वर्षीय अमृत लिम्बूको ज्यान गएको हो । मोटरसाइकलमा सवार पथरीशनिश्चरे–५ का ४२ वर्षीय विष्णु धिमाल गम्भीर घाइते भएका छन् । उनको झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्तालालमा उपचार भइरहेको छ ।
सुन्दरहरैँचा नगरपालिका–५ दुलारीमा हायस गाडीले मंसिर ९ गते अर्थात आइतबार दिउँसो ३ बजेतिर ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसले दक्षिणबाट उत्तरतर्फ सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पथरीशनिश्चरे नगरपालिका–१ स्थित पश्चिम बस स्टेण्डनजिक मंसिर १० गते अर्थात सोमबार साँझ ७ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एनएल ०१ एडी ५५११ नम्बरको लहरीले पूर्वतर्फ नै जाँदै गरेको प्र–१–०२–०४० प ६०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का अन्दाजी २० वर्षीय टार्जन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी चालकको असावधानीका कारण पूर्व–पश्चिम राजमार्गको मोरङ खण्डमा धेरै दुर्घटना भइरहेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।
उनका अनुसार उक्त खण्डमा पछिल्लो समय दुर्घटनाको अवस्था भयावह बनेर गएको छ । ‘राजमार्ग स्तरोन्नतिको काम भइरहेको छ । सवारीसाधन कुद्नलाई बीचमा २ लेनको पिच सडक मात्रै छ । दुवैतर्फ ठुल्ठूला खाल्डा बनाइएका छन् । सडक निर्माण चलिरहेको छ । त्यहाँमाथि चालकले लापरबाही गरिदिन्छन्,’ एसपी घिमिरेले भने ।
साँघुरो सडक, सवारीसाधनको तीव्र गति तथा चालकको असावधानी दुर्घटनाको मुख्य कारण रहेको जानकारी उनले दिए । दुर्घटना बढी भएका र हुनसक्ने सम्भावित ठाउँहरुमा सडक विभाग तथा निर्माण कम्पनीसँग समन्वय गरेर ‘स्पिड ब्रेकर’ लगाउने तयारी भइरहेको उनको भनाइ छ ।
अधिकांश दुर्घटना मोटरसाइकलले जथाभावी ‘ओभरटेक’ (अर्को सवारीसाधनलाई उछिन्ने) गर्दा भइरहेको ट्राफिक प्रहरीको विश्लेषण छ । ‘गलत ठाउँको ‘ओभरटेकिङ’ले दुर्घटना बढ्यो । अधिकांश दुर्घटना मोटरसाइकलका कारण भइरहेको छ,’ घिमिरेले भने ।
उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सडकमा ट्राफिक प्रहरीको सक्रियता बढाइएको छ । विभिन्न जनचेतनामूलक कार्यक्रमदेखि सवारी चालकलाई प्रशिक्षण दिनेलगायतका काम भइरहेको उनले बताए ।
एसपी घिमिरे पछिल्लो समय विशेष गरेर मोटरसाइकललाई लक्षित गरी चालकलाई प्रशिक्षण दिने काम भइरहेको बताउँछन् ।
प्रतिक्रिया