धरान : नेपाल फोटो पत्रकार महासंघ सुनसरीले देउसी खेलेर संकलन गरेको दक्षिणालाई विभिन्न रोगबाट पीडितहरूलाई हस्तान्तरण गरेको छ ।
मृगौला प्रत्यारोपण गरेका इटहरीका पत्रकार पीबी दियालीलाई बुधबार १५ हजार सहयोग हस्तान्तरण गरिएको हो ।
बुधबार धरानमा पत्रकार दियालीकी भान्जी लीला घिमिरेमार्फत उनलाई सहयोग हस्तान्तरण गरिएको हो ।
नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि चाम्लिङ, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई र प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य देवेन्द्र कार्कीले सहयोग हस्तान्तरण गरेका हुन् ।
मृगौला प्रत्यारोपणपछि पनि समस्या आएपछि दियाली काठमाण्डौंमै निरन्तर फलोअपमा उपचार गराइरहेका छन् ।
२०८१ सालको तिहारमा नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अगुवाइमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, प्रेस चौतारी नेपाल धरान साथै धरानका केही पत्रकार, समाजसेवीले देउसी खेलेका थिए ।
उक्त देउसीबाट उठेको दक्षिणामध्ये ६५ हजार रुपैयाँ क्यान्सर पीडित पत्रकार स्नेहा श्रेष्ठ, धरान बसपार्कमा सामान लोडअनलोड गर्ने क्यान्सर पीडित मजदुर बुद्ध ठटाललाई २२ हजार र पत्रकार दियालीलाई १५ हजार सहयोग गरिएको अध्यक्ष विकास चाम्लिङले बताए ।
पत्रकार तथा मजदुर टोलीले करिब १० वर्षदेखि प्रत्येक वर्ष निरन्तर देउसी खेलेर संकलित दक्षिणालाई सामाजिक काम गर्दै आएरहेको मजदुर नेता राईले बताए ।
प्रतिक्रिया