विराटनगर ।मोरङको ग्रामथान गाउँपालिकामा आगामी उपनिर्वाचनका लागि १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो ।
तोकिएकामध्ये ४ वटा मतदानस्थललाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ ।
सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर वर्गीकरण गर्दै मतदानस्थलमा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने तयारी गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।
विगतका निर्वाचनमा भएका झगडा, विवाद, मतदाता र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरिएको उनको भनाइ छ ।
उनका अनुसार अति संवेदनशील मतदानस्थल भने छैनन् । प्रजिअ भट्टराईले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर मतदानस्थलको वर्गीकरण गरिएको जानकारी दिए । उनका अनुसार ग्रामथानमा आगामी उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको छ ।
सुरक्षा स्रोतका अनुसार ३ वटा वा सोभन्दा बढी मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ ।
सुरक्षाका दृष्टिकोणले ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र मावि, ५ को तेतरियास्थित देवी मावि, ६ को रविहाटस्थित पब्लिक मावि र ७ को धोवियारेस्थित गणेश मावि मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको हो ।
वीरेन्द्र माविमा ३ वटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता छन् । देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा ३ वटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन् ।
मतदानस्थलमध्ये ग्र्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १ केन्द्र र ७ सय ७७ मतदाता, २ को वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, २ कै झोराहाटस्थित सरस्वती माविमा १ केन्द्र र २ हजार ६२ मतदाता, ३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ३ कै सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता छन् ।
त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ४ कै मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता रहेका छन् । ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले आगामी उपनिर्वाचनको सुरक्षाका लागि डीएसपीकै नेतृत्वमा प्रहरी परिचालन गरिएको जानकारी दिए । समग्र निर्वाचन सुरक्षालाई लक्षित गरेर मोरङ प्रहरीका डीएसपी मदन केसीको नेतृत्वमा टोली खटाइएको उनको भनाइ छ ।
मतदानस्थलमध्ये संवेदनशीलमा इन्स्पेक्टर तथा सामान्यमा वरिष्ठ सइ र सइको नेतृत्वमा प्रहरी परिचालन हुने चिमरियाको भनाइ छ । उनका अनुसार निर्वाचनका दिन सिनियर प्रहरी अधिकृतको नेतृत्वमा ४ वटा मोबाइल गस्ती परिचालन गरिने छ ।
त्यसबाहेक रिजर्ब र स्ट्राइकिङ टोली पनि रहने जानकारी एसपी चिमरियाले दिए । उनका अनुसार उपनिर्वाचनलाई लक्षित गरेर सूचना संकलन गर्ने तथा त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय सक्रिय भएर लागेको उनको भनाइ छ ।
प्रतिक्रिया