विराटनगर । नेपाली कांग्रेसले पार्टीको कोशी प्रदेश समितिको पहिलो सम्मेलन आगामी मंसिर २२ गते गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा प्रदेश राजधानी विराटनगरा सम्मेलन गर्ने निर्णय कांग्रेसले गरेको हो ।
पार्टीका प्रदेश महामन्त्री भूपेन्द्र राईले सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँकार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु सहभागी हुने जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा प्रदेश समितिको दुई बर्से कार्यकालको समीक्षा हुनेछ । कांग्रेस प्रदेश समितिले पुस १६ गतेदेखि सात महिने सांगठनिक जागरण अभियान पनि सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने सांगठनिक जागरण अभियान सञ्चालन गरिने सभापति उद्धव थापाले जानकारी दिए । उनका अनुसार १ महिनामा २ वटा जिल्लाका दरले अभियान सञ्चालन गर्ने तयारी छ ।
कार्यतालिका बनाएर अभियान सञ्चालन गर्ने गृहकार्य भइरहेको थापाको भनाइ छ । प्रदेश समितिको बैठकले पार्टीको पहिलो प्रदेश सम्मेलन र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
प्रतिक्रिया