इटहरी : इटहरीका तीनवटा औषधी पसलमा सिलबन्दी गरिएको छ ।
औषधी व्यवस्था विभाग विराटनगरले यहाँ रहेका विभिन्न औषधी पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधी बेचबिखनको रेकर्ड नराखेको भन्दै इटहरीका तीनवटा औषधी पसलमा सिलबन्दी गरिएको हो ।
औषधी व्यवस्था विभाग विराटनगरबाट अनुगमनमा आएका एलन खड्काका अनुसार कैफियतका आधारमा सिलबन्दी गरिएको हो । कतिपयलाई सचेत गराइएको छ भने रेकर्ड नराख्ने औषधी पसलमा सिलबन्दी गरिएको उनले बताए ।
‘सिलबन्दी गरिएका पसलका सञ्चालकलाई विभागमार्फत आवश्यक कारबाहीको प्रक्रिया बढाउँछौँ,’ उनले भने, ‘दर्ता भएको पसलमा औषधी बिक्री वितरणको रेकर्ड राख्नुपर्छ । यद्यपि, हामी थप अनुसन्धानको क्रममा छौँ ।’
खड्काका अनुसार इटहरी ६ को अटल फार्मेसी, इटहरी ९ को भगवती बिना मेडिकल र इटहरी २० को स्वस्थ जीवन आयुर्वेदिक औषधी पसलमा सिलबन्दी गरिएको हो । अटल र भगवतीमा बुधबार सिलबन्दी गरिएको हो भने स्वस्थ जीवनमा बिहीबार सिलबन्दी गरिएको खड्काले बताए ।
खासगरी अटल फार्मेसी र भगवती मेडिकलले नार्कोटिक औषधी बेचबिखन गरेको भएपनि रेकर्ड नराखेपछि सिलबन्दी गरिएको हो ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाका आयुर्वेद अधिकृत मनोज यादवका अनुसार नार्कोटिक औषधी भनेको दुव्र्यसनका फस्ने वा लागूऔषधको रूपमा प्रयोग हुन्छ । उक्त औषधी डाक्टरको सिफारिसबाहेक प्रयोग गर्न पाइँदैन ।
तर, ती मेडिकलले भने डाक्टरको सिफारिसबाहेक नै सम्बन्धित मानिसले खानुपर्ने वा सेवाग्राहीको रेकर्ड नै नराखी बेचेको पाइएपछि सिलबन्दी गरिएको यादवले बताए । यता, स्वस्थ जीवन आयुर्वेदिक औषधी पसलले भने लेभल बिनाको औषधी बेचबिखन गरेका कारण सिलबन्दी गरिएको उनको भनाइ छ ।
‘सिलबन्दी भएपछि औषधी व्यवस्था विभागले सात दिनभित्र विभागमा बोलाएको छ,’ यादवले भने, ‘बुधबार नौ वटा र बिहीबार १३ वटा पसलमा अनुगमन गर्दा सो संख्यामा सिलबन्दी गरिएको हो ।’
यता, औषधी व्यवसायी संघ सुनसरीका महासचिव नवीन गौतमले भने अनुगमन भन्ने बित्तिकै रेकर्ड राखेकै भएपनि व्यवसायी आत्तिने अवस्था हुने बताए । ‘रेकर्ड राखेर बेच्नु भनेर हामीले भनिरहेका पनि हुन्छौँ,’ उनले भने, ‘रेकर्ड नै नराखेको भए त लापरबाही हो, एकपटक हामी बुझ्छौँ । नियतवश लागूऔषध बेच्नै हुँदैन ।’ उनले नियतवश नार्कोटिक औषधी बेचेको पाइए, त्यो चरम लापरबाही रहेको स्वीकारे ।
उक्त औषधी डाक्टरको सिफारिसबाहेक नै बेचे लागूऔषध ऐन अन्तर्गत कारबाही हने उनको भनाइ छ ।
खासगरी पछिल्लो समय इटहरीसहित विभिन्न क्षेत्रमा सञ्चालित रहेका औषधी पसलमा लागूऔषधको बिक्री भएको सूचना पाएपछि औषधी व्यवस्था विभाग विराटनगरले निगरानी बढाएको छ ।
प्रतिक्रिया