विराटनगर : विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला’ सम्पन्न भएको छ ।
विराटनगर–७ स्थित इको पार्कमा सोमबार सुरू भएको मेला मंगलबार सम्पन्न भएको हो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले आयोजना गरिएको मेलामा तीन हजार पाँच सय जनाले प्रत्यक्ष अवलोकन गरेका छन् ।
त्यस्तै, तीन सय १९ वटा आवश्यकता माग भएको छ । जसमा एक सय ६१ जनालाई रोजगारदाताले अन्तरवार्ताका लागि बोलाएका छन् ।
उनीहरूलाई सम्बन्धित कम्पनीले प्रक्रिया पूरा गरेर काममा लगाउनेछ । रोजगार शाखाका कपिल थापाका अनुसार १२ जनाले काम पाइसकेका छन् । उनीहरूले मंगलबारदेखि नै सम्बन्धित कम्पनीमा गएर काम सुरू गरिसकेको थापाले जानकारी दिए ।
मेलाको समापनमा मेयर नागेश कोइरालाले महानगर रोजगार मेलाले रोजगारीको खोजीमा रहेका युवाहरूका लागि अवसर सिर्जना गरेको बताए । उनले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि मेला आयोजना गरिएको मेयर कोइरालाले जानकारी दिए ।
महानगरपालिकाले बेरोजगार युवायुवतीलाई रोजगारीको अवसर प्रदान गर्न, युवा श्रम शक्ति र रोजगारदाताको बीचमा समन्वय गर्ने गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ ।
समापनका अवसरमा रोजगारदाताहरूलाई कदरपत्रसमेत प्रदान गरिएको थियो । मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले मेलामा स्टल राख्ने सबैलाई कदरपत्रले सम्मान गरे ।
कार्यक्रममा स्वीस कन्ट्रयाकका कन्ट्री डाइरेक्टर सञ्जय कार्की, आसमान नेपालका गणेश दाहाल, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष कृष्ण साहलगायतले महानगरले रोजगार मेला आयोजना गरेर प्रशंसनीय कार्य गरेको बताएका थिए ।
यसअघि गत वर्ष आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट एक सय ९७ जना युवाले रोजगारी पाएका थिए । यस वर्षको मेलामा सबैभन्दा बढी ‘स्टाप नर्स’को माग आएको महानगरको रोजगार शाखाका थापाले जानकारी दिए ।
नोवेल, विराट मेडिकल कलेज, मोरङ सहकारी अस्पताल, न्यूरो अस्पताललगायतबाट एक सयभन्दा बढी ‘स्टाप नर्स’को माग आएको थापाले बताए ।
उनका अनुसार ‘स्टाप नर्स’पछि प्रशासन, बजार व्यवस्थापक (मार्केटिङ), सवारी चालक, प्राविधिक, कम्प्युटर टेक्निसियन, लेखापाल, रिसेप्सनिस, बिक्रेतालगायतमा माग आएको छ ।
प्रतिक्रिया