.......त्यसपछि भक्कानिए सांसद नेम्वाङ

बुधबार, ०३ पुस २०८१
पॉचथरः जिल्ला समन्वय समिति पाँचथरको परिसरमा निर्मित ब्याडमिन्टन हल उद्घाटन कार्यक्रम तय गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए प्रतिनिधि सभा सांसद वसन्तकुमार नेम्वाङ । २०८० साल माघ १८ गते ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रममा सहभागी हुन गएका बेला अचानक ब्रेन स्टक भएर उपचारका क्रममा रहेका नेम्वाङ १० महिना पछि मङ्गलवार औपचारिक कार्यक्रममा उपस्थित हुँदै थिए । त्यही भएर कार्यक्रम स्थलमा उपस्थित जिल्लावासी हर्षित देखिन्थे । बिहान १० बजे नेम्वाङ चढेको गाडी कार्यक्रम स्थल आइपुग्यो । गाडीबाट ओरालेर नेम्वाङलाई प्रमुख अतिथिको सोफामा लगेर राखियो । औपचारिक कार्यक्रम सुरु भयो । हलको भित्तामा राखिएको शिलालेखको पर्दा खोल्दै भवन उद्घाटन गरियो । ढोकामा टाँगिएको रिबन नेम्वाङले श्रीमतीको सहयोग लिएर काटे । लट्ठीको सहारामा हल भित्र प्रवेश गरे । कोर्ट हेरे बिस्तारै बाहिर ल्याएर प्रमुख अतिथिकै कुर्सीमा राखियो । त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएर उपाधि जितेका खेलाडी पविन्द्र योक्पाङदेनलाई नेम्वाङकै हातबाट कदर पत्र दिलाइयो । अबको पालो प्रमुख अतिथि बोल्ने थियो । नेम्वाङ बोल्न नसक्ने अवस्थामा रहेकार्ले पत्नी भूमिका सुब्बालाई मन्तव्यका लागि बोलाइयो । भूमिका स्टेचमा पुगेर वसन्तको ब्याडमिन्टन खेल प्रतिको लगावसगै खेलकुद विकासका लागि निर्वाह गरेको भूमिका बारेमा बोल्ने थालिन । पत्नीलाई हेरिरहेका नेम्वाङको आँखाबाट अश्रु धारा बग्न थाले । उनी एकाएक भावुक भए । स्वकीय सचिव गणेश योङहाङ र फिदिम १ का वडाध्यक्ष गजाधर भट्टराईले सम्हाल्न खोजे तर सम्हालिन गाह्रो भयो । दुई तीन पटक प्रयास गर्दा एक घुट्की चिया पिए । जिल्लाबाट प्रतिनिधित्व गर्ने एक मात्रै प्रतिनिधि सभा सांसद नेम्वाङलाई यो अवस्थामा देख्दा उपस्थित सबैका ऑखा रसाए,कोही भक्कानिए,कोही ऑशु पुछ्न थाले । कार्यक्रम स्थलमा एकाएक सन्नाटा छायो । ब्रेन स्टकको उपचार गराइरहेका नेम्वाङको बोली २०८० माघ १८गते देखि बन्द भएको छ । यद्वपी उनी कान राम्ररी सुन्छन,मान्छे चिन्छन् अनि आफूलाई केही भन्न मन लाग्दा इसारा गर्छन् । नेम्वाङ काठमाडौँ र भारतका विभिन्न अस्पतालमा उपचार पछि २ साता अघि गृह जिल्ला पाँचथर आइपुगेका हुन । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका समयमा २०७६ साल असार ३ गतेदेखि जिल्ला समन्वय समिति पाँचथरको स्वामित्वमा रहेको ब्याडमिन्टन कवर्ड हलको पुनः निर्माण थालिएको थियो । गत वैशाख १५ गते निर्माण कार्य सकिए पनि उद्घाटन भने भएको थिएन । कार्ड हलको पुनः निर्माणको अगुवाइ गरेका नेम्वाङबाटै उद्घाटन गर्न १८ महिनासम्म थाँती राखिएको ब्याडमिन्टन सङ्घका सचिव मङ्गल बेघाले बताए । ब्याडमिन्टन खेलाडी समेत रहेका नेम्बाङ पाँचथरमा यो खेललाई प्रवेश गराएर संस्थागत गर्ने अनि युवा पुस्तालाई खेल्न प्रेरित गर्ने पहिलो व्यक्ति हुन । नेम्बाङ मन्त्री बनेपछि उनकै पहलमा सङ्घीय सरकारले हल पुनः निर्माणका लागि १ करोड २८ लाख ९१ हजार बजेट व्यवस्था गरेको थियो । नेम्वाङले गरेको परिकल्पना अनुसार बनाइएको नयाँ हलमा ब्याडमिन्टन खेलाउन नपॉउदा दुःख लागेको ब्याडमिन्टन सङ्घ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोको प्रतिक्रिया थियो । नेम्वाङ पाँचथरबाट २०४८,२०५१,२०७४ र २०७९ सालमा निरन्तर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । सङ्घीय निर्वाचन तर्फ एक सिट मात्रै रहेको पाँचथरका सांसद नेम्वाङ बिरामी भएपछि सिङ्गो जिल्ला आवाज विहीन भएको कार्यक्रम उपस्थित जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेको टिप्पणी थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार