इटहरी : नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनका लागि शनिवार (आज)इटहरी आएका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनले देखिएको असरबारे चिन्ता प्रकट गरेका छन् ।
राष्ट्रिय महाधिवेशनमा सहभागी युवाहरूका माझ प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको समाधानका उपायहरू खोज्न आग्रह गरेका हुन् ।
‘हिमालयका समस्याहरू हामीले कसरी अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्ने ? अहिले काठ्माडौंमा आएको धुलो बाहिर निस्कने अवस्था छैन । इरान भारतदेखि आएको धुवाँ र धुलोले हिमालमा हिउँ बिगारेको छ,’ उनले भने, ‘प्लानेट र पिपुलको रक्षाका लागि जेसीजको समूह लाग्नुपर्ने अहिलेको आवश्यकता छ । जसले नागरिकलाई सुखी बनाउँछ ।’
युवाहरूकामाझ प्रधानमन्त्री ओलीले नागरिकलाई खुसी बनाएर मात्रै सुखी हुन सक्ने तर्क राखे । ‘खुसी भएको एक छिनका लागि हुन सक्छ तर हामी दीर्घकालीन रूपमा सुखी प्रदान गर्न चाहान्छौं जुन नागरिकलाई चाहिन्छ ।’ उनले थपे ।
जेसीजलाई मानवजातिको सुखका निम्ति लाग्नका लागि पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ओलीले भने, ‘जेसीजका युवाहरू सभ्य हुनुहुन्छ, सु–संसृत हुनुहुन्छ । मानवका लागि सर्वश्रेष्ठ सिद्धान्त मानवता भए पनि त्यो हराउँदै गएको अवस्थामा जेसीजका युवाहरू सिकाउँदै हिँड्नुभएको अवस्था छ ।’
प्रधानमन्त्री ओलीले बाहिर बजारमा आएजस्तो व्यवस्थामा परिवर्तन आए पनि जनताको अवस्थामा परिवर्तन नभएको भन्ने भाष्य गलत भएको दाबीसमेत गरेका छन् । ‘हेर्नुहोस् त हिजोको इटहरी र आजको इटहरी, हिजोको कलेज र आजको कलेज, हिजोका बाटो र आजको बाटो, हिजोको सञ्चार र आजको कम्युनिकेसन’ धेरै फरक परेको छ नि ?’ उनले भने ।
प्रधानमन्त्री ओलीले सरकार समृद्धि हाँसिल गर्नका लागि अगाडि बढेको उल्लेख गर्दै त्यसतर्फ केन्द्रित हुने बताएका छन् । २० प्रतिशत भन्दा बढी जनसङ्ख्या गरिबीको रेखा मुनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई निराकरण गर्नका लागि सरकारको ध्यान केन्द्रित रहेको उल्लेख गरे ।
उनले भने, ‘त्यसको लागि हामीलाई गरिबीले साथ दिएको छैन । हामीले कसैलाई राम्रो गर्नु छ भने त्यसको लागि आफू राम्रो हुनुपर्यो र काम गर्नुपर्यो ।’
ओलीले विश्व योग दिवसको प्रसङ्ग निकाल्दै मानिसलाई आन्तरिक रूपमा राम्रो हुन योगले मद्दत गर्ने बताएका छन् । मानिसलाई ज्ञान, बुद्धि र मतिले चिनाउने बताउँदै प्रधानमन्त्री ओलीले जेसिसले त्यसलाई बुझेर अगाडि बढेको उल्लेख गरेका छन् । मानिसमा घमण्ड पस्न नहुने आग्रह गरेका उनले घमण्डले नै मानिसको मति भ्रष्ट हुने बताए ।
...वेदनाका कवि अगमसिंह गिरीको चर्चा
इटहरीसँग ५५ वर्षको सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘५५ वर्ष अगाडि इटहरी आउँदा चोकमा चिया पिउँदै अगमसिंग गिरीको कविता पढ्नै मौका पाएको थिएँ र मलाई ऊर्जा प्रवाह भएको थियो ।’
प्रधानमन्त्री ओलीले कविताको एक हरफ ‘चित्लाङगाङको भीमफेदी कुलेखानी गाउँमा, नमस्कार छ भनिदिनु बास बसेका ठाउँमा’ गाउँदै भने, ‘इटहरी आएर पढेको यसै कविताले मलाई ऊर्जा प्रवाह गरेको थियो ।’
भारतीय नेपाली कवि अगमसिंह गिरीलाई पीडा र वेदनाका कविका रूपमा चिनिने गरिन्थ्यो ।
एनपीएल जित्दै गर्दा भाषण, मञ्चबाटै बधाई
प्रधानमन्त्री ओलीले नेपाल प्रिमियिर लिग एनपीएल क्रिकेटको विजेता टिम जनकपुर बोल्टस्लाई महाधिवेशनको उद्घाटन समारोहबाटै बधाई ज्ञापन समेत गरे ।
‘सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले ठट्टा गर्दै भने, ‘यहाँ आएको छु तर मन चैँ एनपियलमा पनि छ ।’ त्यतिकैमा बाहिरबाट आवाज आयो, ‘एनपिएल जनकपुरले जितिसक्यो ।’ लगत्तै प्रधानमन्त्री ओलीले भने, ‘मैले फोन हेरेको छैन जितेको हो भने, जनकपुरलाई बधाई । रनर अप हुनेलाई शुभकामना छ । वेट फर नेक्स्ट ।’
...जब प्रधानमन्त्री शेरबहादुर सुनियो
प्रधानमन्त्री ओलीले आफू अब डेढ वर्षको लागि मात्रै प्रधानमन्त्री रहेको दोहोराए । ‘अबको डेढ वर्ष पछिको प्रधानमन्त्री भनेको शेरबहादुर जी नै हो मैले भन्ने गरेको छु ।’
त्यसअघि कार्यक्रम सञ्चालिकाले सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा भनेकी थिइन् ।
उनले प्रधानमन्त्री ओलीकै अगाडि शेरबहादुर भनेपछि समारोहमा हल्ला मच्चिएको थियो । पछि उनले सच्याइन् । तर पछि ओलीले ठट्यौली शैलीमा भने, ‘चेलीले भनेको ठिकै त हो त । अबको डेढ वर्ष पछिको प्रधानमन्त्री शेरबहादुरजी नै त हो ।’
प्रधानमन्त्री पद क्षणिक भए पनि व्यक्तिगत रूपमा नागरिकका आवस्यक्ता अनुसारका कार्यमा आफू लाग्ने उनको भनाई छ । जेसीजको लक्ष्य पनि विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसीजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काममा आफू सदैव सुवेक्षुक हुने प्रधानमन्त्री ओलीले उल्लेख गरे ।
प्रधानमन्त्री ओली महाधिवेशनको उद्घाटन गरेर काठमाडौँ भने फर्किसकेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवालाई सम्मान गरिएको महाधिवेशन आगामी तीन दिनसम्म चल्ने छ ।
महाधिवेशनमा गोष्ठी, शान्ति पदयात्रा, वक्तृत्वकला, ब्याडमिन्टन प्रतियोगिताका साथै सन् २०२५ का लागि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षसहितका पदाधिकारीहरू चयन समेत हुँदै छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया