धरानमा सङ्गीत जात्रा सुरु

सोमबार, ०८ पुस २०८१
धरान । मौलिक तथा जातीय भेषभूषा, सांस्कृतिक प्रदर्शनी, जातीय परिकार सहितको अर्ग्यानिक खाद्यान्नलाई प्राथमिकता दिएर आयोजना गरिएको “सङ्गीत जात्रा २०८१” सुरु भएको छ । “गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्‌धन” भन्ने मूल नाराका साथ धरान उपमहानगरपालिकामा आइतबारबाट पुस १७ गतेसम्म  धरान १५ बगर कोटमा सङ्गीत जात्रा, सांस्कृतिक महोत्सव सुरु भएको हो । सङ्गीत जात्राको पहिलो दिन धरान १५ को वडाध्यक्ष नरेश ईवारमले उद्घाटन गरेका छन् । यस महोत्सवले धरानको खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास रहेको वडाध्यक्ष ईवारमले बताए । महोत्सवमा मौलिक र जातीय भेष भूषासहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकारसहितको अर्ग्‌यानिक खाद्यान्नहरुलाई प्रोत्साहन गरिएकोले धरानलाई चिनाउन यसले मद्दत थप गर्ने ईवारमले बताए । महोत्सवको पहिलो दिन किरातहरूको साकेला नाच र लिम्बुहरूको च्याब्रुङ नाच प्रदर्शन गरिएको थियो भने महोत्सव अवधिभर थप मनोरञ्जन प्रदान गर्न ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति गरिने भएको छ । नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र सह आयोजक त्रिवेणी महिला समूह रहेको महोत्सवको संयोजक तथा सल्लाहकार दीपचन्द्र राईले बताए । महोत्सवमा दैनिक ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उनले बताए । आयोजक नेचर क्लब धरानका अध्यक्ष कृष्ण राईको सभापतित्वमा भएको उक्त उद्घाटन कार्यक्रममा मजदुर नेता भीम ज्वाला राई, सुनसरी उद्योग वाणिज्य सङ्घका सचिव किशन मास्के लगायतले शुभकामना प्रदान गरेका थिए । महोत्सव अवधिभर कलाकारहरू सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समीर श्रेष्ठ, ट्राइवररेन (सिक्किम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्‌स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरू सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्यान्ड, द क्राइसिस, ऊर्जा ब्यान्ड, लासोज ब्यान्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ । महोत्सवलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरूदेखि सबै उमेर समूहका नागरिक रमाउन सक्ने खेलको व्यवस्था रहेको छ भने महोत्सवमा ५० वटा स्टल रहेको आयोजकले जनाएको छ । महोत्सवमा प्रवेश गर्न २ सय रुपैंया टिकट लाग्ने संयोजक राईले बताए । यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने उद्देश्यका साथ आयोजना गरिएको संयोजक राईको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार