भोजपुर : भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा यही माघ १ गतेदेखि ५ गतेसम्म सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।
टेम्केमैयुङ गाउँपालिकाले भोजपुर, खोटाङ र संखुवासभाको सिमानामा हुँदै जाने मुन्दुम पदमार्गलाई प्रवर्द्धन ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै कृषि मेला आयोजना गर्न लागेको हो ।
टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा हुने सांस्कृतिक तथा पर्यटन कृषि मेलाको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्ने पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सरकारको एक सय पर्यटकीय गन्तव्यमा परेको उक्त पदमार्गको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न, स्थानीय कृषि उपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न सहयोग पुग्ने उदेश्यसाथ मेला आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।
स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिने टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णबहादुर राईले जानकारी दिए ।
मेलामा मुन्दुम पदमार्गको प्रवर्द्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने भएको छ ।
एक लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ गाउँपालिकाले भ्रमण वर्ष र सांस्कृतिक तथा कृषि मेला आयोजना गरी विभिन्न कार्यक्रमहरू तय गरेको हो ।
गाउँपालिकाले स्थानीय बस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालय, र अन्य संरचनाहरूको निर्माणलाई प्राथमिकता दिँने भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए ।
पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से लगायतका आठ हजार मिटर अग्ला ६ वटा हिमाल देख्न सकिन्छ । पदमार्ग क्षेत्रका विभिन्न स्थानमा विविध तिथि र दिनहरूमा धार्मिक–सांस्कृतिक तथा विशुद्ध मनोरञ्जनात्मक मेला लाग्छन् ।
प्रतिक्रिया