आर्थिक प्रलोभनमा नपरी जनताको काम गर्न मातहतका प्रहरीहरुलाई डिआइजी अधिकारीको निर्देशन 

विहीबार, ११ पुस २०८१
झापा : कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय झापा तथा प्रदेश विपद् व्यवस्थापन कार्यालय चन्द्रगढीको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले जिल्ला प्रहरी कार्यालय झापामा रहेका विभिन्न शाखाहरू लगायत हिरासत कक्ष तथा विपद् व्यवस्थापन कार्यालयको निरीक्षण पश्चात् जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत इकाई प्रमुखहरू सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् । सो क्रममा डिआइजी अधिकारीले प्रहरी जनताको पहरेदार भएका कारण कुनै पनि खाले आर्थिक प्रलोभनमा नपरी सेवा चुस्त ढङ्गले प्रदान गर्न समेत प्रहरीले निर्देशन दिएका छन् । उनले सुरक्षा सदैव संवेदनशील विषय भएकोले आफूलाई सुम्पिएको जिम्मेवारी चुस्त दुरुस्त अवस्थामा अनुशासित तवरले विश्राम नलिई आफ्नो पदीय दायित्व निर्वाह गर्न र समाजलाई जीवन्त राख्न ईमान्दारीताका साथ प्रहरी सेवा प्रदान गर्न समेत मातहतका प्रहरीहरूलाई निर्देशन दिएका छन् । सम्पूर्ण प्रहरी कर्मचारीहरूले प्रहरी कार्यसम्पादन सम्झौता बमोजिम नतिजामूलक कार्य गरी सदैव प्रहरी सङ्गठनको गरीमालाई उच्च बनाउन जोड दिनुका साथै श्रोत साधनको अभाव रहेको भनेर गुनासो मात्र गर्ने होइन, अभावलाई व्यवस्थापन गरेर हामीले प्रवाह गर्ने सेवा नागरिकको मन जित्ने गरी आर्थिक प्रभावकारीरुपमा प्रदान गर्न जरुरी रहेको कुरामा डिआइजी अधिकारीले जोड दिए । डिआइजी अधिकारीले प्रहरीको दैनिक काम कारबाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखीकरण गर्दै लैजान तथा आ-आफ्नो जिम्मेवार  इलाकाहरूमा प्रहरी परिचालन गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण गरी सुरक्षा व्यवस्थालाई मजवुद बनाउन व्यावसायिक प्रहरीको भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् । निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के।सी।ले प्रदेश प्रहरी प्रमुख अधिकारीलाई झापा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावी कार्य योजना, सुरक्षा चुनौतीहरू र प्रदेश प्रहरी कार्यालय सँगको अपेक्षा सहितको प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार