धरान सङ्गीत जात्रामा आज अनमोल गुरुङको प्रस्तुति रहने

सोमबार, १५ पुस २०८१
धरान । “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुन्डिएको गीत हो । नेपाली भाषीहरूको बसोबास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गाएको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात् एक करोड दर्शक पाएको छ । त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन् गायक अनमोल गुरुङ । हो तिनै गायक गुरुङ आज धरान सङ्गीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएका छन् । उनका हजारौँ रहर लगायतका गीतहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएको छ । एउटै पिरती लगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगर कोटमा आज साँझ ८ बजेदेखि धराने दर्शकहरूले हेर्न र सुन्न पाउनेछन् । प्रत्येक दिन नयाँ नयाँ कलाहरू प्रस्तुत गरिरहेको नेचर क्लब धरानले आज सोमबार गायक गुरुङलाई धरान ल्याइएको क्लबका अध्यक्ष कृष्ण राईले जानकारी गराए । कालेबुङ भारत भएर पनि नेपाली गीत सङ्गीतमा गरेको योगदान हाम्रा लागि अमूल्य रहेकाले दुवै देशलाई जोड्न गुरुङलाई धरान ल्याइएको महोत्सव आयोजक क्लबका अध्यक्ष राईले बताए । गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज नवौँ दिन सोमबार धराने दर्शकहरूको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गुरुङलाई धरान ल्याइएको राईले बताए । प्रत्येकदिन जसो चर्चाका गायकहरू महोत्सवमा उतारिरहेका क्लबले मङ्गलवार फिचरिङ एण्ड गुड बोइज ब्यान्डका समीर श्रेष्ठ मङ्गलवार समीर श्रेष्ठ र बुधवार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी) ले बताए । धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लब धरान, निशान त्रिभ्याली टोल विकास संस्था मुख्य आयोजक र त्रिवेणी महिला समूह सह आयोजक रहेको संयोजक कान्छीले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार