इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय, बूढीखोलामा भेटियो बोराभित्र फोहोर

मंगलबार, १६ पुस २०८१
इटहरी : इटहरीमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । मंगलबार (आज) बिहान शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमन तिम्सिनाका अनुसार इटहरीका दुई ठाउँ र धरानको एक ठाउँ गरी तीन ठाउँमा बम रहेको प्रहरीलाई सूचना आएपनि उपमहानगर गेटअघि मात्रै बमजस्तो देखिने शंकास्पद वस्तु फेला पारिएको हो । डिस्पोजको क्रममा सेनाले प्रेसर कुकर फेला पारेको छ । ‘प्लाष्टिकभित्र प्रेसर कुकर फेला परेको छ । साथै बम बनाउन प्रयोग हुने केही पदार्थमसेत फेला परेको छ,’ एसपी तिम्सिनाले भने, ‘प्रहरीलाई म्यासेजमा तीन ठाउँ बम राखिएको भनेर सूचना आएपनि उपमहानगर गेटअघि मात्रै प्रेसर कुकर फेला परेको छ ।’ उक्त कुकुरभित्र राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा भेटिएको छ । ‘कुकरभित्र राष्ट्रिय सुरक्षा दल भनेर लेखिएको पर्चासमेत फेला परेको छ,’ उनले भने । उक्त पर्चामा हिन्दु राष्ट्र स्थापना, संघीयता खारेजी गर्नुपर्ने, स्थानीय तहलाई बलियो बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने लगायतका माग राखिएको छ । उनका अनुसार इटहरी उपमहानगरपालिका कार्यालयको गेटअघि, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो । एसपी तिम्सिनाका अनुसार बूढीखोलामा भने बोराभित्र फोहोर फ्याँकिएको पाइएको छ । एउटा बोराभित्र कपडाजस्तो देखिनेगरी राखिएको अवस्थामा फोहोर फ्याँकिएको उनले जनाए । ‘अरूतिर सहजै बम भेटिएपनि बूढीखोलामा राखेको बम सजिलै फेला पार्न सकिदैँन’ भनेर यसअघि प्रहरीलाई म्यासेज आएको थियो । बिहान ४ः३६ बजे इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीको आधिकारिक मोबाइल नम्बरमा एक नम्बरबाट एकै किसिमका म्यासेज आएको थियो । एनसिएलको सिमबाट आएको उक्त म्यासेजबारे प्रहरीले सुक्ष्म र विभिन्न कोणबाट अनुसन्धान गरिरहेको एसपी तिम्सिनाले बताए । ‘हामी अनुसन्धानकै चरणमा छौँ, सीसी टिभी फुटेज पनि हेरेर अनुसन्धान हुन्छ,’ उनले भने । उक्त सिम कसको नाममा छ र कसले म्यासेज पठाएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । उनका अनुसार तीन ठाउँमा बम रहेको भन्ने सूचना दिएपनि धरानमा भने केही नरहेको पुष्टि भएको छ । यो पनि – इटहरीमा बम भनिएको वस्तु कुकर रहेको पुष्टि, राष्ट्रिय सुरक्षा दल लेखिएको पर्चा फेला यो पनि – …अब आन्दोलन सुरू भयो भनेर बम राखेको म्यासेज प्रहरीलाई आएको थियो यो पनि – इटहरीमा बम फेला, डिस्पोज गर्ने क्रममै पड्क्यो यो पनि – इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार