इटहरी : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, नेपाली शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने अभियानमा अग्रसर एक प्रभावशाली नेतृत्व हुन्।
इक्यान, देशभरका ६३० भन्दा बढी शैक्षिक परामर्श केन्द्रहरूको छाता संस्था, शिक्षा परामर्श क्षेत्रलाई पारदर्शी र विद्यार्थी-केन्द्रित बनाउँदै नेपालको शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याइरहेको संस्था हो।
विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने हजारौं नेपाली विद्यार्थीहरूलाई मार्गदर्शन र सहजीकरण गर्दै आएको इक्यानको नेतृत्वमा अध्यक्ष भट्टराईले शैक्षिक परामर्श क्षेत्रको छवि सुधार गर्दै यसलाई एक पेशागत, इमानदार र विश्वसनीय संस्थाको रूपमा स्थापित गरेका छन्।
हालैको इटहरी भ्रमणका क्रममाप्रदेश खबरसँगको विशेष कुराकानीमा अध्यक्ष भट्टराईले शैक्षिक परामर्श क्षेत्रका अवसर र चुनौती, राज्यको भूमिकाबारे आफ्ना दृष्टिकोण प्रस्तुत गरे। साथै, उनले भविष्यमा इक्यानले शिक्षा क्षेत्रलाई थप सुदृढ बनाउन कसरी महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विषयमा चर्चा गरे। प्रस्तुत छ, उनको अनुभव, योगदान, र दृष्टिकोणको सम्पादित अंश।
इक्यान के हो र यसको भूमिका के छ?
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) देशभरका एजुकेशन कन्सल्टेन्सीहरूको छाता संस्था हो, जसमा ६३० भन्दा बढी परामर्शदाताहरू आवद्ध छन्। यसको मुख्य उद्देश्य शैक्षिक परामर्शलाई व्यवस्थित, मर्यादित, र पेशागत व्यवसायका रूपमा विकास गर्नु हो।
विद्यार्थीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउने मात्र होइन, उनीहरूको शैक्षिक, व्यक्तिगत, र व्यावसायिक भविष्य निर्माणमा पनि मार्गदर्शन गर्ने इक्यानको प्रमुख भूमिका छ। यसले परामर्शदाताहरूलाई दक्ष बनाउँदै उनीहरूको सेवा गुणस्तर सुधार गर्नका लागि तालिम, कार्यशाला, र नेटवर्किङ कार्यक्रम सञ्चालन गर्छ।
देशभरका विद्यार्थी र अभिभावकहरूलाई विश्वासिलो सेवा दिन आठवटा प्रदेशमा इक्यानका शाखाहरू स्थापना गरिएका छन्। यी शाखाहरूले स्थानीय स्तरमा शैक्षिक परामर्शलाई व्यवस्थित गर्दै थप पारदर्शिता र विश्वसनीयता प्रदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
तपाईंको नेतृत्वमा इक्यानले के उपलब्धिहरू हासिल गर्यो?
मेरो नेतृत्वमा इक्यानले शैक्षिक परामर्श क्षेत्रको विकासमा महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ। हामीले इक्यानलाई एक विश्वसनीय, इमानदार, र पेशागत संस्था बनाएका छौं, जसले सदस्यहरूलाई मात्र होइन, सम्पूर्ण शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।
हाम्रो प्राथमिक उद्देश्य भनेको विद्यार्थीलाई उचित मार्गदर्शन दिनु र भविष्य निर्माण गर्न सहयोग गर्नु हो। यसका लागि हामीले ८ वटा शाखाहरू विस्तार गरेर, देशभरका ६३० कन्सल्टेन्सीहरूलाई एकत्रित गरेका छौं। यसले संस्थाको पहुँच र प्रभावलाई व्यापक बनाएको छ।
हम्रा सदस्यहरूको सशक्तिकरणमा विशेष ध्यान दिइएको छ। व्यवसायिक विकासको लागि तालिम, कार्यशालाहरू, र अन्य स्रोतहरू उपलब्ध गराउँदै हामीले उनीहरूको आत्मविश्वास र क्षमता वृद्धि गरेको छौं।
यसका परिणामस्वरूप, अहिले इक्यानका सदस्यहरू कन्सल्टेन्सी क्षेत्रमा एक पेशागत रूपले स्थापित भएका छन्, जसले शैक्षिक परामर्श क्षेत्रको सम्मानजनक छवि निर्माणमा मद्दत पुर्याएको छ।
सरकारसँगको सहकार्य र नीति निर्माण प्रक्रियामा हाम्रो सक्रिय संलग्नताले शैक्षिक क्षेत्रलाई व्यवस्थीत र मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। हामीले सरकारसँग शिक्षा नीति र शैक्षिक परामर्श क्षेत्रको नियमनको लागि पहल गरेको छौं।
समाजका अन्य सरोकारवालासँगको सम्वन्धले इक्यानलाई न केवल एक पेशागत संस्था बनाएको छ, बल्कि यसले नेपाली शैक्षिक प्रणालीमा सुधार ल्याउने ठूलो मञ्चको रूपमा काम गरिरहेको छ।
हाम्रो पहल र प्रभावका कारण अब इक्यान एक शैक्षिक ब्रान्डको रूपमा स्थापित भएको छ, जसले विद्यार्थीहरूलाई उचित मार्गदर्शन, विश्वसनीयता, र अवसर प्रदान गर्दै छ। यसै प्रक्रिया मार्फत, हामी नेपाललाई एक प्रमुख शैक्षिक गन्तव्यको रूपमा प्रस्तुत गर्न प्रतिबद्ध छौं।
विद्यार्थी विदेश जाने प्रवृत्तिलाई तपाईं कसरी हेर्नुहुन्छ?
नेपाली विद्यार्थीहरूको विदेश जाने प्रवृत्ति वर्तमान समयमा एक विश्वव्यापी परिप्रेक्ष्यमा ठूलो महत्व राख्दछ।
समाजको विकास र प्रगतिको क्रममा यो प्रक्रिया सामान्य हो, तर नेपालमा यो नयाँ भएको कारण विभिन्न दृष्टिकोण र भाष्यहरू बनेका छन्।
यसलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु उपयुक्त हुँदैन, किनकि विदेश जानु भनेको केवल ‘देश छोड्नु’ होइन, बरु ‘वैश्विक अनुभव प्राप्त गर्ने’ र त्यसबाट सिकेका सीप र ज्ञानलाई देशको विकासमा योगदान पुर्याउने अवसर हो।
विद्यार्थीहरू विदेशमा अध्ययन गरी फर्केपछि, उनीहरूले यहाँका उद्योग, समाज र अर्थतन्त्रमा ठूलो योगदान पुर्याउन सक्नेछन्। तर यसका लागि, सरकारले नेपालमा सम्मानजनक अवसर र संरचनाहरू सिर्जना गर्नु अत्यन्त आवश्यक छ जसले युवाहरूलाई आफ्नो सीप र ज्ञानलाई यहाँ फर्केर प्रयोग गर्न प्रेरित गर्दछ। यसका साथै, सरकारले व्यवसायिक र आकर्षक वातावरण पनि सिर्जना गर्नुपर्छ जसले उनीहरूको भविष्य निर्माणमा मद्दत पुर्याउन सकोस्।
शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि के गर्नुपर्छ?
शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्पष्ट नीति र नियम आवश्यक छ। प्रादेशिक सरकारहरूले स्थानीय परामर्शदातालाई नियमन र प्रोत्साहन गर्न प्रभावकारी कदम चाल्नुपर्छ। यसले विद्यार्थी र अभिभावकलाई भ्रमबाट बचाउँदै विश्वसनीय सेवाको वातावरण तयार पार्छ।
‘स्टडी इन नेपाल’ अभियानबारे इक्यानको योजना के छ?
विद्यार्थीलाई विदेश पठाउनु हाम्रो एक हिस्सा हो। तर, इक्यानले नेपाललाई शैक्षिक गन्तव्यका रूपमा विकास गर्न ‘स्टडी इन नेपाल’ अभियानमा पनि ध्यान दिएको छ।
विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न आकर्षित गर्न हामीले विद्यालय, कलेज, र सरकारी निकायसँग सहकार्य गरिरहेका छौं। यसले नेपालको शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नेछ।
अन्त्यमा…
इक्यानले शैक्षिक परामर्श क्षेत्रलाई पुनर्संरचना गर्दै यसलाई विश्वासिलो र सम्मानजनक बनाएको छ। आगामी दिनमा इक्यानको भूमिकाले नेपाललाई शैक्षिक हब बनाउने विश्वासका साथ, विद्यार्थी र राष्ट्रकै हितका लागि काम गर्न हामी प्रतिबद्ध छौं।
प्रतिक्रिया