काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रूपमा उठेको र संसद्मा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताइन् ।
उनले भनिन्, ‘अर्को कुरा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सन्दर्भमा स्वास्थ्य मन्त्रीले अस्ति बोल्नु भएको कुराले थोरै विवाद आएको जस्तो लाग्छ तर उहाँको आँखाले देखि सकेपछि एउटा भाव व्यक्त गर्नु भएको हो तर मलाई के लाग्छ भने स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रूपमा उठेको र संसद्मा सबैले प्रतिबद्धता जनाएको पनि हो । सबैले आवश्यक छ भनेको विश्वविद्यालय निर्माण गरेर जाऊ ।’
यसको साथै, उनले लामो समयदेखि बैठक र सभा हुन नसकेको सिटिइभिटिको दुवै बैठक राखेको भन्दै यसलाई नियमित गर्ने प्रयास गरेको पनि बताइन् ।
उनले भनिन्, ‘६९ सालदेखि काम हुन नसकेको सिटिइभिटिको परिषद्को बैठक म जाँदा ११ महिनादेखि बसेको थिएन । सिटिइभिटिको सभा भनेर ८ वर्षदेखि बसेको थिएन, जसले नीति गत निर्णय गर्नुपर्ने थियो, मैले सभा र बैठक दुवै राखी सकेपछि एक ढङ्गले त्यसलाई नियमित गर्ने प्रयास गर्दै छु । लामो समयदेखि बेतिथिमा रहेको ठाँउलाई बनाउन समय लाग्छ । त्यसकारण आजै यो किन भएन भनेर भनी राख्दा त्यसलाई बनाउनु गर्नुपर्ने प्रयत्नहरू अझै बाँकी छन् । त्यसैले हामीले आज समितिले दिएको सबै निर्देशनलाई पालना गर्ने दायित्व सरकारको हो । गर्नुपर्छ तर त्यसको लागि हुने कानुनी जटिलता र प्रक्रियाहरू फुकाउनु पर्ने हुँदा त्यो फुकाउनको लागि केही समय लाग्ने हुँदा यस वर्ष तपाईँले भन्नु भएको सबै काम गर्नको लागि अर्को क्यालेन्डर पर्खिनु पर्ने कुरा अनुरोध गर्न चाहन्छु ।’
यसको साथै समिति सभापति अम्मर बहादुर थापाले समितिबाट निर्देशन भएर गएको विषयको प्रगतिबारे अनिवार्य रूपमा जानकारी गराउनु पर्ने बताए ।
उनले भने, ‘जे कुराको समितिले निर्णय गरेर पठाउँछु । त्यो कुराहरूको के कस्तो प्रगति भएको छ, छैन वा गर्दै छौ भन्ने कुराको पनि जानकारी समितिमा आउनु पर्छ । यो मन्त्रीज्यूलाई एउटा मेरो आग्रह छ ।’
प्रतिक्रिया