विराटनगर : प्रा.डा.मेदिनीप्रसाद शर्मा माओबादी केन्द्र छोडेर पुनः नेकपा (एमाले)मै प्रवेश गरेका छन् । शनिबार विराटनगरमा नेकपा (एमाले)को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन् ।
विराटनगरस्थित पोष्ट ग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहेका उनले माओवादी विघटनको संघारमा रहेको जनाउँदै एमाले प्रवेश गरेको बताए ।
उनलाई एमाले उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गरेका हुन् ।
एमाले कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईका अुनसार एमाले कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महिने जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको छ ।
माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गरेका थिए ।
संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया