विराटनगर : विराटनगरमा यात्रुवाहक बसले ठक्कर दिँदा सडक पार गर्दै गरेकी महिलाको मृत्यु भएको छ ।
कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हिमाल आँखा अस्पताल अगाडि सोमबार साँझ ५ः५० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार पैदलयात्री महिलालाई सडक पार गर्दै गर्दा प्रदेश १–०१–००१ ख ४४८३ नम्बरको बसले ठक्कर दिएको थियो ।
रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगियो ।
अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः१० बजेतिर मृत घोषित गरेको इन्स्पेक्टर लम्सालले बताए ।
दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
तीव्र गतिमा रहेको बसले पैदलयात्री महिलालाई सडक क्रस गर्ने क्रममा ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया