इटहरी । कोशी प्रदेशका १३ जिल्ला सहित देशभर ७० जिल्लाका भूमि समस्या समाधान आयोगका अध्यक्षले शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अध्यक्षहरुलाइ शपथ दिलाएका हुन ।
कोशी प्रदेशजस्तै मधेसका ६, बाग्मतीका १३, गण्डकीका १०, लुम्बिनीका १२, कर्णालीका ९ र सुदूरपश्चिम प्रदेशका ७ जिल्लाले भूमि आयोगको अध्यक्ष पाएको हो । बाँकी रहेका ७ (कोशी प्रदेशको तेह्रथुम सहित, मधेसको सप्तरी र रौतहट, गण्डकीको स्याङ्जा, कर्णालीको जुम्ला र सुदूरपश्चिमको बझाङ र कञ्चनपुर) जिल्लामा अध्यक्षहरू भने नियुक्त हुनै बाँकी रहेका छन् ।
कोशी प्रदेशमा नियुक्त भएका अध्यक्षहरूमा ताप्लेजुङमा कृष्णकुमार बस्नेत, पाँचथरमा धन कुमार फियाक, इलाममा प्रकाश अधिकारी, सङ्खुवासभामा शंकरमान कँडेल, धनकुटामा देवमान राई, भोजपुरमा देवीराम चौलागाईं, खोटाङमा निर्मल राई, सोलुखुम्बुमा नतिकाजी गुरुङ, ओखलढुङ्गामा पुरुषोत्तम लुइँटेल, उदयपुरमा बल बहादुर तामाङ, झापामा मदन प्रसाद अधिकारी, मोरङमा नवीन पौडेल र सुनसरीमा इन्द्र प्रसाद पोखरेल रहेका छन् ।
कसरी गर्छ काम ?
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमि समस्या समाधान आयोग विगतका आयोगहरू भन्दा अधिकार सम्पन्न रहेकोले गतिशील भएर काम गर्ने बताए ।
उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासिहरुको समस्या सधैँका लागि समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
सरकारको चाहना र राष्ट्रको आवश्यकता सम्बोधन गर्ने रहेकोले सबै पदाधिकारीहरूले आफ्नो जिम्मेवारी बोध गरी प्रभावकारी ढङ्गले कार्यसम्पादनमा खटिन निर्देशन दिँदै विगतमा देखा परेका कानुनी व्यवधानहरूलाई फुकाउँदै जाने गरी काम भइरहेको समेत उल्लेख गरे
'विगतका आयोगका अधुरा कार्यहरूलाई निरन्तरता दिने यस आयोगको कार्यक्षेत्र रहेको छ ।' उनले भने यसै गरी आयोगका अध्यक्ष हरिप्रसाद रिजालले आयोगका काम कारवाहीहरूलाई प्रभावकारी तुल्याउन आयोगबाट कार्य योजना तयार भएको बताउँदै दीर्घकालीन समाधानको बाटोमा आयोग लाग्ने बताए ।
प्रतिक्रिया