काठमाडौँ : काठमाडौँको सुकेधारामा आजबाट आजबाट पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । इटहरी घर भएका पर्यटन व्यवसायी देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ बढीको लागतमा मर्क्योर नामक पाँचतारे होटल सञ्चालनमा ल्याएका हुन् ।
होटल व्यवस्थापन अन्तर्राष्ट्रिय कम्पनी एकोर ग्रुपअन्तर्गतको मर्क्योर ब्रान्डले निर्माण गरेको होटेल मर्क्योरका अध्यक्ष बस्नेतले प्रदेश खबरलाई जानकारी दिए । आजबाट सञ्चालनमा आउन लागेको होटेलको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
एबी होल्डिङले होटल, पर्यटन, कृषि, स्वास्थ्य, ऊर्जालगायतका परियोजना विकास र इक्विटीमा लगानी गर्दै आइरहेको छ । उनैले अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्रान्ड मर्क्योर काठमाडौँ होटल सुकेधारामा सञ्चालनमा ल्याउन लागेका हुन् ।
द मेट्रोपोलिटन होटल प्रालिको व्यवस्थापनमा एकोर ग्रुप नेपालमा पहिलो पटक भित्रिएको अध्यक्ष बस्नेतको भनाइ छ । एसियासँगै युरोप, अमेरिका, अस्ट्रेलिया, चीन लगायत मुलुकमा चर्चित ब्रान्ड हो, उनले भने, यसले समग्र पर्यटन तथा हस्पिटालिटीमा टेवा पुर्याउने विश्वास छ ।
सन् १९६७ मा फ्रान्सबाट सुरु मर्क्योर काठमाडौँमा १११ औँ शाखाका रूपमा भित्रिएको हो। यसरी विदेशी चर्चित ब्रान्ड नेपाल भित्रिदा नेपाललाई फाइदा हुने बस्नेत बताउँछन्।
पाँच रोपनी जमिनमा फैलिएको मर्क्योरमा पाँच थरीका रेस्टुरेन्ट र बार छन्। पहिलो ‘अल डे डाइनिङ’ हो । जुन २४ घण्टा नै सञ्चालन हुन्छ। यहाँ स्थानीय र अन्तर्राष्ट्रिय स्वादको खानेकुरा पाइन्छ।
दोस्रो, ‘जायका’ जहाँ भारतीय परिकारहरू पाइन्छ । तेस्रो, ‘स्रोपा’ इटालियन रेस्टुरेन्ट हो। जहाँ एक पटकमा २४ जना बसेर खाना मिल्छ । होटेलको भुँइतलामा वरिपरि हरियालीले सजाइएको यो रेस्टुरेन्ट बाहिर पट्टी छ । चौथौँ ‘द कोभु लबी’सँगै रहेको बार हो।
पाँचौँको नाम हो – ‘शुक्र वार’ । यो बार होटेलको १२ औँ तला अर्थात् छतमा छ । ‘इन्फिनिटी स्विमिङ पुलसँगै रहेको बारबाट काठमाडौँ उपत्यका आसपासको दृश्य देखिन्छ। स्विमिङका पारखीहरू र चिया कफी खाँदै गफगाफका लागि उपयुक्त हुन्छ,’ उनले भने, ‘मौसम खुल्दा वरपरको दृश्य पनि राम्रो देखिन्छ।’
मर्क्योरमा पाँच किसिमका गरी एक सय चार वटा कोठा छन् । सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्विन। हरेक कोठाका सुविधा फरक रहेको अध्यक्ष बस्नेतले बताए । यहाँ एक रात बस्ने शुल्क १५ हजार रुपैयाँदेखि सुरु हुने उनले जनाए ।
होटेलमा चार सय जनाभन्दा बढी मान्छे अटाउने बैंक्वेट हल छ । दुई वटा बैठक कोठा, जिम, स्टिम साउना, वेलनेस सेन्टर छ । थप एउटा बैंक्वेट हल, क्यासिनो समेत सञ्चालनमा ल्याउने अध्यक्ष बस्नेतको दाबी छ । यसैबिच इटहरीमा पनि सोही कम्पनीले वैशाखदेखि अर्को होटल सञ्चालनमा ल्याउने तयारी गरिरहेको बस्नेतले बताए ।
प्रतिक्रिया