भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २२ जनाविरुद्धको मुद्दा जिल्ला अदालत पठाइएको छ ।
रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले पत्रकार सम्मेलनमार्फत उक्त कुरा जानकारी दिएका हुन् ।
सुप्रिम सहकारी बुटवलको बचत अपचलनको अभियोगमा लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका विरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले लामिछाने र जोशीसहित २२ जनाविरुद्ध पुरक अभियोग दर्ता भएको हो ।
५५ करोड बिगो दाबीसहित रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पौडेलले जानकारी दिए ।
यसअघि गत वैशाखमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित २८ जनालाई प्रतिवादी बनाएर सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । तर उनीहरूमध्ये १७ जनाविरुद्ध थप अभियोग समेत लगाइएको छ ।
यसअघि नै सहकारी ठगीको मुद्दा लगिएका मध्ये केहीलाई पूरकअभियोगमा पनि प्रतिवादी बनाइएको छ । उनीहरूलाई सहकारी ठगी र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ ।
जिल्ला न्यायाधिवक्ता पौडेलका अनुसार पूरक अभियोग र थप अभियोगसहित यो मुद्दामा जम्मा प्रतिवादी ४२ जना भएका छन् ।
पहिलो चरणको मुद्दामा ८६ करोड रुपियाँ बिगो कायम गरिएको थियो । प्रतिवादी थप भएसँगै बिगो पनि झण्डै डेढ अर्ब पुगेको हो ।
प्रहरीले एक साताअघि नै दुई प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पौडेलले सुरु प्रतिवेदनका २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १७ जना थप गरेर प्रहरीले ४५ जनालाई मुद्दा चलाउनु पर्ने राय दिएकाले सोही अनुसार मुद्दा दर्ता गरिएको बताए ।
प्रतिक्रिया