धरान । धरान उपमहानगरपालिका १५ सदन रोड बस्ने २१ वर्षीय रिजन राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले १ जना महिला सहित पाँच जनालाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेहरूमा धरान १३ का १८ वर्षीय उत्सव मगर, धरान १३ कै २१ बर्षीया विश्रान्ती मगर, २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, र २१ वर्षीय सुदिप तामाङ रहेका छन् ।
शनिवार बिहान धरान १५ सदन रोडमा राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते भएर बाटोमा लडिरहेको अवस्थामा छ देखेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए ।
खबर प्राप्त हुनसाथ अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट प्रहरी सहायक निरीक्षक हरि नारायण राजवंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले राईलाई टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिनामा काटिएको, तत्काल बोल्न नसक्ने अवस्थामा फेला पारेको थियो ।
घाइतेलाई तत्काल उपचारको लागि वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाएको सुनसरी प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान तथा मातहतका कार्यालयहरू समेतबाट प्रहरी परिचालन भई खोजतलास गर्ने क्रममा प्र १-०२-०५२ प ८९८५ नं को स्कुटर सहित धरानका विभिन्न स्थानहरूबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनका म्याद थप गरेर अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया