इलाम : मेची राजमार्गको स्तरोन्नति गर्न इलामबासीले चासो देखाएका छन् । विभिन्न स्थानमा पहिरोका कारण जोखिम बढेको भन्दै स्तरोन्नति गर्न चासो बढाइएको हो ।
झापाको चारआलीदेखि ताप्लेजुङसम्म जोड्ने सडकको विभिन्न भागमा पहिरोका कारण सवारी अवरुद्ध हुने भन्दै समयमा नै चासो देखाउनुपर्नेमा इलामबासीको जोड छ ।
खासगरी इलाम नगरपालिका–९ मा पर्ने माइखोला माथिको भागमा बढी जोखिम रहेको भन्द स्तरोन्नति नभए वैकल्पिक सडकको व्यवस्था गर्न इलामबासीले चासो देखाएका हुन् ।
सोमबार उनीहरूले जिल्ला प्रशासन कार्यालय इलाममा धर्नासमेत दिएका छन् । धर्नामार्फत सरकारको ध्यानाकर्षण गराउनु आफूहरूको कर्तव्य रहेको केशव खनालको भनाइ छ ।
सचेत नागरिक समाज इलामका नाममा भेला भएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा नारा–जुलुससहित सडक मर्मतमा चासो देखाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । यो सडक जीर्ण भएको भन्दै यसको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको इश्वर चिपालुले बताए ।
गएको बर्खामा सडक अवरोध हुँदा स्थानीयले सास्ती भोग्नु परेको भन्दै आउने बर्खामा सो खालको सास्ती नहुनेगरी विकल्प खोज्न माग गरिएको उनको भनाइ छ ।
साथै, स्थानीयबासीको हस्ताक्षरसमेत संकलन गरी प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण बुझाइएपछि डिभिजन सडक कार्यालयमासमेत सडक स्तरोन्नतिका लागि दबाब दिइएको स्थानीय प्रकाश चापागाईँले बताए ।
डिभिजन सडक कार्यालयलाई समेत ज्ञापनपत्र बुझाउँदै उनीहरूले तत्काल सडक सुधार गर्न माग गरे । आफूहरूको मागलाई बेवास्ता गरिए चरणबद्ध आन्दोलन गरिने चेतावनीसमेत दिइएको छ ।
प्रतिक्रिया