तेह्रौँ 'धरान १० के रन' फागुन १० गते हुने

मंगलबार, ०८ माघ २०८१
धरान । धरान रनद्वारा आयोजना हुने 'नेवा च्यारिटि १० के रन' आगामी फागुन १० गते हुने भएको छ । “शिक्षाको निम्ति च्यारेटी दौड” भन्ने सन्देश सहित रनलाई खेलकुदमय र चेतनामूलक कार्यक्रम बनाउन ब्हील चेयर रेस र विश्वभर जुनसुकै ठाउँमा रहेका धावक धावीकाले भर्चुअल रन समेत गर्न पाउने मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । १३ औँ संस्करणमा १६ वर्ष देखि ३९ वर्ष समूहलाई खुल्ला दौड समूहमा समावेश गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् भने दौडमा चर्चित गायक राजु लामा समेत धावकको रूपमा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए । प्रतियोगितामा दौडको ठिक समय मापनका लागि ‘चिप टाइमिङ’ सिस्टम प्रयोग गरिने छ यो प्रणाली नेपालमा ११ औँ संस्करण देखि धरान रनले प्रयोग गर्न थालेको आयोजकले जनाएको छ । यो जुत्तामा लगाइने चिप सिस्टमले प्रत्येक धावक, धाविकाले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन देखाउने अध्यक्ष राईले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता हुने १० किलोमिटर दौडको रुट पुतली लाइन देखि सुरु गरी दुर्गा चोक, बुद्ध चोक, रत्न चोक मङ्गलवारे, कल्याण चौक, पानी टङ्की, गणेशमान चौक, रङ्गशाला, जिरो प्वाइन्ट, अमर हाट, रेडक्रस भवन, हात्तीसार क्याम्पस, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनिया चौक पुरानो बजार देशीलाईन हुँदै भानु चौकमा आएर समापन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १६ वर्ष माथिका ३९ वर्ष सम्म खुल्ला दौडका विजेताले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने १२ वर्ष देखि १५ वर्ष भित्रका ‘अन्डर १६’ समूहका,४९ वर्ष देखि ५९ वर्ष सम्मको ‘मिड भेट्रान’समूहका, महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ४० वर्ष देखि ४९ वर्ष सम्मको ‘भेट्रान’ समूहका महिला पुरुष विजेताले जनही नगद १० हजार, ७ हजार, ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष देखिका ‘सुपर भेट्रान’ समूहका महिला पुरुष विजेताले नगद ५ हजार मेडल र प्रमाणपत्र पाउने भएका छन् । बाह्रौँ धरान रनमा गत वर्ष करिब ४ हजार जना धावक, धाविकाहरूले सहभागी थिए । धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । यस धरान रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ किमी दौड गराउँदै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार