काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकेर पानी माग्न सिंहदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् ।
शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।
उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन । मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो । हामी काम गरेर देखाउँछौँ । अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु । ’
त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्टाइएको बताए । ठुलो बजेट भएकाले एडिबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए ।
‘अहिलेका मेयरले पनि एकदमै मेहनत गर्नुभयो । अलि अलि पानी त ल्याउनुभयो । त्यतिले पुग्दैन । तीन वटा वडामा पनि पुग्दैन । पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नुभयो । सङ्घले आफ्ना नागरिकलाई पानी दिन आतुर छ । प्रधानमन्त्री र म बिच धरानको खानेपानी समस्याबारे छलफल भएको छ । करिब छ अर्बको बजेट छ हामीसँग । त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौँ । एडिबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ । किनकि ठुलो बजेटको कुरा छ । छलफल गरिसकेको छौँ । त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौँ ।’
त्यस्तै उनले पहिला पनि निवर्तमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे ।
उनले भने,‘धरानमा पानीको समस्या पहिलेदेखि नै थियो । धरानका डाँडाकाँडामा समस्या धेरै नै थियो । धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी खुवाइरहेको थियो । तर मेयरसाबले बहादुरी देखाउनुभयो । यो संस्थानबाट पानी लिन्न आफैँ सक्षम छु भन्नुभयो । संस्थानको सबै अधिकार आफ्नो मातहतमा लिनुभयो तर सक्नुभएन ।’
प्रतिक्रिया