काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । दक्षिण कोरियाले फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ ।
पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ ।
ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए ।
कोभिड–१९ को महामारीमा करिब तीन वर्ष अन्य मुलुकजस्तै कोरियाली अर्थतन्त्र पनि सुस्ताएको थियो ।
आर्थिक गतिविधि कम भएपछि श्रमिकको माग पनि कम थियो तर पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै कोरियामा विदेशी श्रमिकको खाँचो बढेकाले कोरिया सरकारले मापदण्ड पूरा गरेर छोटो समयमा पठाउन सक्नेलाई प्राथमिकतामा राखेको छ ।
सन् २०२२ मा लगभग १५ हजार युवा ईपीएसमार्फत दक्षिण कोरिया पुगेका छन् ।
नेपाली युवा अहिलेसम्म कोरियामा मुख्य गरी दुई क्षेत्र कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा काम गर्न जाने गरेका छन् ।
ईपीएस शाखाका अनुसार सन् २०२३ मा ईपीएसमार्फत कृषि तथा पशुपालनतर्फ मात्रै १० हजार ७५८ जनाको माग आएको छ । कृषितर्फको भाषा परीक्षा सम्पन्न गरी सीप परीक्षणको तालिम पनि सार्वजनिक गरिसकेको छ ।
सन् २००८ देखि बर्सेनि हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा सन् २०२० र सन् २०२१ को दुई वर्ष कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको थियो ।
कोरियाले उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, निर्माण क्षेत्रमा विभिन्न १६ देशबाट श्रमिक माग गर्दै आए पनि नेपालबाट भने कृषि र उत्पादनमूलक क्षेत्रमा मात्र श्रमिक माग गरिँदै आएको छ ।
प्रतिक्रिया