पाथिभरा केबलकार विवाद वार्ताबाटै समाधान गर्नुपर्छ : प्रचण्ड

मंगलबार, १५ माघ २०८१
तेह्रथुम : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा केबलकार निर्माण सम्बन्धी विवाद वार्ता र संवादबाट समाधान गर्नुपर्ने बताएका छन्। केही दिनअघि केबलकार बनाउने र नबनाउने विषयलाई लिएर विवाद चर्किँदा गोली चल्ने घटना घटेकोमा दुःख व्यक्त गर्दै प्रचण्डले यस्ता अप्रिय घटना दोहोरिन नदिन सरकार थप जिम्मेवार हुनुपर्नेमा जोड दिए। प्रचण्डले प्रधानमन्त्री भएको बेलामा पनि पाथीभराको केबलकार बनाउने विवादबारे विभिन्न डेलिगेसन बालुवाटार आएको स्मरण गर्दै भने, 'द्वन्द्व र अप्रिय घटना नहोस् भनेर वार्ता मार्फत समाधानको प्रयास गरेको थिएँ। तर, म सरकारबाट हटेपछि विवाद चर्कियो। अहिले पनि संवादमार्फत समस्या समाधानका लागि भूमिका खेल्ने छु।' संसद् र सरकारमार्फत छलफल गरी समस्या समाधानका लागि पहल गर्ने उनको प्रतिबद्धता रहेको छ। प्रचण्डले तेह्रथुमको आठराई गाउँपालिका–३, ह्वाकुमा निर्मित बगाले शहीद स्मृति पार्क उद्घाटन गर्दै प्रमुख अतिथिका रूपमा मन्तव्य दिएका थिए । यो पार्क २०५८ साल माघ १४ मा सशस्त्र द्वन्द्वका क्रममा नेपाली सेनाद्वारा मारिएका २१ जना माओवादी कार्यकर्ता र सर्वसाधारणको सम्झनामा निर्माण गरिएको हो। त्यसै अवसरमा बोल्दै प्रचण्डले वर्तमान सरकारको आयु लगभग पूरा भएको दोहोर्‍याए। हामीले केही नगरे पनि यो सरकार ढल्छ। हामी हिँड्दा–हिँड्दै ढल्छ। कसैले केही गर्नै पर्दैन,' प्रचण्डले भने। उनले नेतृत्वमा राम्रो काम गर्ने प्रयास भइरहे पनि दलाल पुँजीपतिहरू ले गठबन्धन बनाएर त्यसमा बाधा पुर्‍याएको आरोप लगाए। प्रचण्ड पार्टी नेता वर्षमान पुनसहित तेह्रथुम आइपुगेका हुन्। सोमबार वसन्तपुर नगरपालिकामा निर्मित चोलुङ पार्कको भ्रमण, लसुनेमा निर्मित धनरुपा स्मृति पार्क उद्घाटन, र झाँक्री गुफाको अवलोकन गरेका थिए। मङ्गलवार उनले चुहानडाँडामा माओवादी नेता भक्तराज कन्दङवाको सालिक अनावरण र पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि काठमाडौँ फर्कने कार्यक्रम छ। उनले सोमबार जनयुद्धका क्रममा ज्यान गुमाएका तेह्रथुमका शहीद परिवारका आफन्तलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार