‘भिजिट भिसा’मा आएर श्रमदान, धरानबाट १७ जना पक्राउ, धर्म प्रचारको आरोप

शनिबार, २६ माघ २०८१
इटहरी : धरानबाट प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । ‘भिजिट भिसा’मा नेपाल आएर श्रमदान गर्ने १७ जनालाई धरान उपमहानगरपालिका ५ देउरालीस्थितबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू १६ जना अमेरिकी र एकजना भारतीय नागरिक रहेका छन् । सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार उनीहरूलाई माघ २२ गते नियन्त्रणमा लिइएको हो । ‘हामीलाई पनि नेपाल सरकारको माथिल्लो तहबाटै सूचना आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत इलाका प्रशासन कार्यालय धरानले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो,’ उनले भने, ‘उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कागजात भेरिफाइ गर्दा भिजिट भिसामा आएर भिसाको अवज्ञा गरेको पाइयो ।’ उनका अनुसार भारतको सिलगढीका वसन्त लामासहित १६ जना अमेरिकी नागरिकहरू नेपाल आएका थिए । लामासहित अमेरिकी नागरिकहरू ¥यान म्याथ्यु कार्टर, साइलस ड्यानियल फक्स, रसेल टमस होवेल्स, रोज ब्रायन होवेल्स, मार्क अलान समर्स म्याथ्यु ब्रायन केनेडी, प्याट्रिक इरभिन समर्स, डुआन माइकल गोडलिङ, बेन्यामिन वार्ड कौफ म्यान, ब्रायन वार्ड कौफ म्यान, डिलन ज्याक्सन बोन्जो, क्याथलिन सु मूर, डासन एन्ड्रु कार्टर, जेम्स नाथन अस्टिन, विलियम रेमन्ड भिभियानो जुनियर, केनेथ डेभिड ग्रे र जेम्स रे मर्फी थर्डलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूको भिसा अवधि कायमै रहेपनि भिजिट भिसाको अवज्ञा गरेकाले नियन्त्रणमा लिएर सम्झाईबुझाई गरी छाडिएको एसपी तिम्सिनाले जानकारी दिए । ‘आवश्यक कागजातसहित इलाका प्रशासन कार्यालयमा ल्याएर भेरिफाइ गर्दा भिसा अवधि कायम रहेछ । टुरिस्ट प्रयोजनबाहेक अरू केही काम गर्नुहुन्छ भने थप कारबाही हुन्छ भनेर सम्झाईबुझाई गरिएको छ,’ उनले भने, ‘भिजिट भिसामा आएपछि घुमघाम नै गर्नुपर्छ । तसर्थ, यी हुन् घुम्ने ठाउँ भनेर सचेत पनि गराएका छौँ ।’ उनीहरूको राहदानीसहितका कागजात चेकजाँच गरिएको थियो। ‘टुरिस्ट भिसामै आएर पनि फलानो ठाउँमा श्रमदान गछौँ भनेर प्रक्रियागत रूपमा आउनुपर्छ । श्रमदान गर्ने वा भिजिटबाहेक अरू काम गर्ने भए नयाँ प्रोसेसबाट आउनुपर्छ,’ एसपी तिम्सिनाले भने, ‘यहाँका टुरिजम गन्तव्यसमेत जानकारी गराएर एकपटकलाई सचेत गराइएको छ । फेरि यस्तै प्रकारका भिसा अवज्ञा गरेको पाइएमा नियमानुसार कारबाही हुन्छ ।’ पक्राउ परेकाहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचार गरेका हुन् ? भन्ने जिज्ञासामा उनले यसबारे आफूलाई थाहा नभएको जनाए । नियन्त्रणमा लिइएकाहरूसँग धर्मको प्रचारजन्य कागजात फेला नपरेको उनको भनाइ छ । यद्यपि, उनीहरूमाथि थप अनुसन्धान र निगरानी भने भइरहेको छ । तर, स्थानीयवासीहरूले भने श्रमदानको आवरणमा धर्मको प्रचारसमेत गरेको आरोप लगाएका छन् । खासगरी धरान ५ देउरालीमा रहेको प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै उनीहरू श्रमदानमा खटिएको र सो क्रममा धर्मको प्रचार गरेको स्थानीयको आरोप छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार