विराटनगर । मोरङको रंगेलीबाट आज (आइतबार)देखि राहदानी (पासपोर्ट)को सेवा दिन सुरु गरिएको छ ।
इलाका प्रशासन कार्यालय रंगेलीबाट राहदानी वितरणका लागि प्रक्रियागत हिसाबले काम हुन थालेको हो । यसअघि मोरङमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट मात्रै राहदानी सम्बन्धी सेवा दिने गरिएको थियो ।
सबै प्रक्रिया पूरा गरेर पठाएपछि काठमाडौंबाट राहदानी ‘प्रिन्ट’ भएर आउने जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी प्रदीप साहले बताए । काठमाडौंदेखि जारी भएर आएपछि राहदानी मोरङबाट सम्बन्धित व्यक्तिलाई वितरण गर्ने गरिएको उनको भनाइ छ ।
आवेदन दिएपछि २० देखि २५ दिनभित्रमा राहदानी प्राप्त गर्न सकिने साहले बताए । ‘यसअघि जिल्ला प्रशासन र इलाका प्रशासन उर्लाबारीबाट मात्रै विद्युतीय राहदानी सम्बन्धी सेवा दिने गरिएको थियो,’ उनले भने, ‘अब रंगेलीबाट पनि सुरु भएको छ ।’
उनका अनुसार फारम भर्नेदेखि बायोमेट्रिक गर्नेसम्मको सबै सुविधा रंगेलीमै उपलब्ध हुने छ । राहदानी लिन चाहने रंगेली क्षेत्रका बासिन्दाले अब जिल्ला प्रशासन धाइरहनु पर्दैन ।
जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरेर इलाका प्रशासन कार्यालय रंगेली कार्यक्षेत्र भएका स्थानीय तहका पायक पर्ने सेवाग्राहीले राहदानीका लागि रंगेलीमै सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
सेवाग्राहीले कृषि विकास बैंक रंगेली शाखामा राजस्व बुझाएर इलाका प्रशासन कार्यालय रंगेलीबाट सेवा लिन सक्ने सहायक प्रजिअ साहले बताए ।
प्रतिक्रिया