जलनपीडित बिरामीको उपचारबारे मन्त्री पौडेलले भने : सुविधाको दुरुपयोग नहोस्

आइतबार, २७ माघ २०८१
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलन पीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले आर्थिक अवस्था कमजोर भएका जलन प्रभावित बिरामीहरूको निःशुल्क उपचारका लागि निर्णय गरे लगत्तै बर्न अस्पतालले पनि सेवा उपलब्ध गराउँदै आइरहेको छ । काठमाडौँ २८ कमलपोखरीस्थित एक मःमः आउट लेट आगलागीका क्रममा जलेर घाइते बिरामीहरूको उपचार अवस्थाबारे जानकारी लिँदै मन्त्री पौडेलले बिरामीहरूका गुनासा सुने । मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग अन्तरक्रिया गर्दै निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिने निश्चित गर्न आग्रह गरे । सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ, मन्त्री पौडेलले भने, सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला । उनले जलन प्रभावितहरूको उपचारका क्रममा अस्पतालले भोग्नु परेका समस्याहरू तथा बिरामीका गुनासा दुवै सुने । उनले जलनको समस्या बढिरहेको भन्दै उपचार प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनुका अलावा समस्या बढ्न नदिन सचेतनाका लागि सरोकारवालाबिच सहकार्य गर्ने समेत बताए । मन्त्री पौडेलले भने, जलन प्रभावितको उपचार प्रभावकारी बनाउन हामी यथासम्भव विकल्पका लागि तयार छौँ । मन्त्री पौडेलले आर्थिक अभाव भोगेका नागरिकलाई निःशुल्क उपचारका लागि भन्दै अस्पतालमा उपचारका लागि कीर्तिपुर नगरपालिकामार्फत दुई करोड रुपैयाँ निकासा गरेको मन्त्रालयले जनाएको छ । यसबाहेक सरकारी वीर अस्पतालमा रहेको जलन वार्डमार्फत पनि आर्थिक समस्या भोगेका बिरामीहरूको निःशुल्क उपचार भइरहेको छ । मन्त्री पौडेलको सचिवालयका अनुसार कीर्तिपुर अस्पतालमा १८ बेडको बेग्लै अस्पताल भवनका लागि चौधरी समूहबाट प्रतिबद्धता प्राप्त भएको छ । गत साता मन्त्री पौडेलसँग चौधरी ग्रुपका सञ्चालक एवं सांसद विनोद चौधरी तथा जलन पीडित सांसद चन्द्र भण्डारीसहितको टोलीले भेट गरेको थियो । करिब १८ करोड लागतमा समूहले प्रतिबद्धता जनाएको अस्पतालका लागि केही दिनमै समझदारी गरेर काम अघि बढाउने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार