विराटनगर : मोरङ र झापाको सिमाना भएर बग्ने रतुवा खोलामा लामो समयपछि पुल निर्माण सम्पन्न भएको छ ।
पुल निर्माण सम्पन्न भएसँगै सवारीसाधन सञ्चालन हुने अवस्था बनेको छ । हुलाकी राजमार्गअन्तर्गत रतुवा खोलामा १७ वर्षअघि पुल निर्माण सुरु भएको थियो । बल्ल पुल तयार भएको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका अनुसार पुल निर्माण सम्पन्न भए पनि पुलको पूर्व–पश्चिम सडकको काम भने बाँकी छ । पुल निर्माण भएको स्थान झापातर्फ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरीगञ्जमा पर्छ ।
झापाको क्षेत्र नम्बर ५ ओलीको निर्वाचन क्षेत्र हो । मोरङतर्फ सार्वजनिक लेखा समितिका सभापति एवं एमाले नेता ऋषिकेश पोखरेलको निर्वाचन क्षेत्र रतुवामाईमा पर्छ । मोरङको क्षेत्र नम्बर २ पोखरेलको निर्वाचन क्षेत्र हो ।
पुल निर्माण सम्पन्न भएपनि आसपासको सडकको कालोपत्र गर्न बाँकी छ । निर्माण सम्पन्नको समयसमीमा असारसम्मको छ ।
समयअगाडि नै निर्माण पूरा भएको हो । पूर्व–पश्चिम सडकको बाँकी काम पनि असारअघि नै सम्पन्न हुने हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलले जानकारी दिए ।
निर्माणका लागि दोस्रो पटक २०७९ सालमा ठेक्का लागेको थियो । पुल नहुँदा स्थानीयबासी बर्खामा डुंगा र हिउँदमा बाँसको पुलबाट यात्रा गर्न बाध्य थिए । यात्रुले बाँसको पुलबाट खोला वारपार गर्दा साइकलको १० रूपैयाँ र मोटरसाइकलको २० रूपैयाँ तिनुपर्ने हुन्थ्यो ।
भेलबाढीमा खोला वारपार सम्भव थिएन । पुल निर्माण भएपछि आवतजावत सहज भएको छ । ‘पुल निर्माण भएपछि सवारी आवागमान भइरहेका छन्,’ पोखरेलले भने, ‘पुलको पूर्व–पश्चिमको सडक निर्माण भइरहेको छ ।’
मोरङ–सुनसरी पुल आयोजनाले आर्थिक वर्ष २०६४–०६५ मा कालिका–ओसीए जेभीलाई १० करोड ३२ लाखमा पुल निर्माणको ठेक्का दिएको थियो । त्यसबेला २०४।८ मिटर मात्रै पुल निर्माण भयो । अधुरै रहेको पुल खोलाको बीच भागमा थियो ।
हुलाकी राजमार्ग कार्यालयका अनुसार दुवैतर्फ गरेर ७६.३ मिटर लम्बाइ थप गरेर पुल निर्माणका लागि देव एन्ड सायर–समता–आशिषदीप जेभीसँग २०७९ साल पुस १७ गते २२ करोड १२ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
त्यसपछि मोरङतर्फ ५० मिटर र झापातर्फ २६ मिटर पुलको लम्बाइ थपिएको छ । हाल उक्त पुलको लम्बाइ २ सय ८२ दशमलब ८ मिटर छ ।
रतुवा खोलाको अधुरो पुल निर्माण भएपछि झापाका दक्षिण क्षेत्रका सर्वसाधारणलाई हुलाकी मार्ग हुँदै कोशी प्रदेशको राजधानी विराटनगर आउजाउ गर्न सहज भएको स्थानीयले बताए । तत्कालीन ठेकेदार कम्पनीले पुल अधुरै छाडेको थियो ।
अधुरो पुल निर्माण गर्न १५ वर्षपछि नयाँ ठेक्का लागेको हो । पुलको सुरक्षाका लागि झापातर्फ ६ सय ५० र मोरङतर्फ एक हजार चार सय मिटरको तटबन्ध निर्माण भइरहेको छ ।
प्रतिक्रिया