इटहरी : मिहनत, लगनशीलता र धैर्यतापछिको सफलतामा सन्तुष्ट बनेका विराटनगरस्थित विराट टिचिङ हस्पिटलका सञ्चालक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई कोशी ‘एक्सिलेन्स अवार्ड–२०८१’ मा स्वास्थ्य विधातर्फको अवार्ड प्रदान गरिएको छ ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्कीलाई सो अवार्ड प्रदान गरेका हुन् ।
कोशी प्रदेशको राजधानी विराटनगरमा २०५० सालदेखि निरन्तर स्वास्थ्यमा काम गरेका कार्कीले २०५१ मा आफैँले एक बेडको अस्पताल बनाए । विराट नर्सिङ होम भनेर खोलेको अस्पताल ७ दिनमा ७ बेडको बनेको थियो । तत्कालीन अवस्थामा एक बेडको पनि अस्पताल हुन्छ भन्दै सबै जनाले खिसिट्यूरी गरेको उनी सुनाउँछन् ।
२०५७ मा विराट नर्सिङ होम ५० बेडबाट सुरुवात, हेल्थ कलेजको सुरुवात, नोबेल मेडिकल कलेजको पार्टनरसिप समेत हुँदै २०७० बाट विराट मेडिकल कलेजको सुरुवात कार्कीले गरेका छन् । एक बेडबाटै सुरु भएको संस्था अहिले एक हजार बेडको छ ।
आफ्नै देशमा सङ्घर्ष गर्दा पहिलो श्रेणीको मानिस बन्न सकिने उदाहरण बनेका कार्कीले दार्जिलिङबाट आइएस्सी र विएस्सी, तत्कालीन सोभियत सङ्घको स्कलरसिपमा एमडी हुँदै एम एससीसम्मको अध्ययन गरेका छन् ।
उनै कार्की अध्यक्ष रहेको विराट मेडिकल कलेज दुई हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनुका साथै हजारौँलाई शैक्षिक गन्तव्यको केन्द्रसमेत बनेको अवस्था छ ।
देशले आफूलाई के दियो भन्दा पनि देशलाई मैले के दिएँ भन्ने सोच बनाएका उनै कार्कीलाई ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ मा स्वास्थ्य विधातर्फको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लि.द्वारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ । अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया