पूर्वराजा शाहको अभिव्यक्तिले सदनमा समेत तरङ्ग : दुवै सदनबाट चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव

सोमबार, १२ फागुन २०८१
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशलाई लिएर सदनमा सांसदहरूका बीच ‘घोचपेच’ बहस भएको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणका साथै शाहको अभिव्यक्तिलाई लिएर चर्काचर्की बहस गरेका छन् । राजतन्त्रको विरोधमा रहेको राजनीतिक दलका सांसदहरूले राजालाई चुनाव लडेर प्रधानमन्त्री बन्नसम्मको सुझाव दिँदै गर्दा राजतन्त्रको पक्षमा आवाज उठाउँदै आएको दलका सांसदले राजतन्त्र आवश्यक रहेको जिकिर गरेका छन् । पूर्वराजा शाहको अभिव्यक्तिपश्चात् नेकपा (माओवादी केन्द्र) मौन बसेको भन्ने संकेत गर्दै नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले कित्ता क्लियरको प्रसंग कोट्याएका छन् । हुन त शाहको अभिव्यक्तिपश्चात् माओवादी केन्द्रका शीर्ष नेताहरूले आलोचना गर्दै राजतन्त्र नफर्किने बताउँदै गर्दा बास्कोटाले माओवादी केन्द्रको ‘दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ?’ भन्ने’बारेमा कित्ता क्लियर गर्नुपर्ने बताएका थिए । ‘गम्भीरतापूर्वक कुरा उठिरहेको छ, माओवादीले आफ्नो कित्ता क्लियर गरोस् । दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा हो ? व्यवस्था बदल्न खोजेको कि सरकार बदल्न खोजेको ?’ बास्कोटाले प्रश्न गरे । गणतन्त्रको विरोध गर्ने काम संसद बैठक सुरु भएदेखि नै जारी रहेकोप्रति असन्तुष्टि जनाउँदै उनले कांग्रेस र एमालेले गरेको कामलाई देख्न नसक्नेहरूले सरकारको विरोध गरेको र व्यवस्था बदल्ने भाष्य बनाएको टिप्पणी गरे । ‘राजा ल्याउने भनेर एकथरी कराउने, संघर्ष चर्काउने भनेर अर्कोथरी कराउने । प्रतिशोध भयो भनेर ‘डे वान’ देखि अर्कोथरी कराएको छ । ठीकै हो यहाँ कराउन पाइन्छ, सरकारका काम मन नपर्न सक्छ । के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ?’ बास्कोटाले प्रश्न गरे, ‘दक्षिणपन्थी र वामपन्थी विचार बोक्नेको एउटै चुलो बलेको हो ? सहमति त्यसमा हो ? याद गर्नुहोला, त्यो चुलोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन, तीन पाक्दैन । भ्रममा नरहिदिनुहोला ।’ बास्कोटाले यस्तो प्रश्न गरेपछि बैठकमा बोल्ने क्रममा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आफूहरूले जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएको कुरा नबिर्सन चेतावनी दिए । ‘पूर्ववक्ता माननीयले माओवादीको कित्ता क्लियर होस् भन्नुभयो, क्लियरै छ । हामीले हिजो जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएका हौं,’ सांसद पौडेलले भने । पूर्वराजा’bout बास्कोटालाई यस्तो जवाफ दिनुअघि पौडेलले सत्ता पक्षले माओवादी केन्द्रसँग सल्लाह नगरी संविधान संशोधनका कुरा गरेको भन्दै माओवादीबिना संविधान संशोधन कुनै हालतमा नहुने चेतावनी दिए । एमाले र माओवादी केन्द्रका सांसदहरूले राजतन्त्रका ’बारेमा चर्काचर्की बहस गर्दै गर्दा राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)ले राजासहितको प्रजातन्त्र आवश्यक रहेको जनाएको छ । राप्रपा अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले नेपालमा पूर्वराजालाई स्पेस दिनुपर्ने बताए । ‘म नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ,’ लिङ्देनले भने, ‘गणतन्त्रको विरोध गर्नु, प्रजातन्त्रको विरोध गर्नु हो भन्नेजस्तो अर्थमा यहाँ जुन कुरा राखियो । तपाईं गणतन्त्र लडेर ल्याएको होस् अथवा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर रूपमा विरोध गरिरहन्छौं ।’ उनले गणतन्त्र लडेर ल्याएको भए पनि लुटतन्त्रमा परिणत भएकाले आफूहरूले निरन्तर रूपमा विरोध गरिरहने चेतावनीसमेत दिए । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई आउँदो २०८४ को निर्वाचनमा भाग लिन चुनौती दिइन् । सत्तामा नै आउने चाहना भए कसैको कृपाले सत्तामा फर्किन नसोच्न उनले आग्रह गरिन् । ‘सत्तामा नै फर्कने चाहना छ भने टीका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपभोग गर्दै २०८४ को चुनावमा भाग लिने हिम्मत गर्नुस् । पूर्वराजा र समर्थकलाई मेरो सुझाव छ, कहिल्यै पूरा नहुने झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस्,’ उनले भनिन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र, लोकतन्त्र ल्याउन लडेका र जेलनेल भोगेकाहरूबाटै व्यवस्थामाथि खतरा रहेको टिप्पणी गरे । उनले फ्रान्समा पाँचपटकसम्म गणतन्त्र आउने/जाने गरेको स्मरण गराउँदै लोकतन्त्र, गणतन्त्र आएपछि विभिन्न पार्टी सरकारमा गएर जनतालाई केही पनि दिन नसक्दा व्यवस्थामाथि खतरा बढेको बताए । ‘नेपालमा पनि गणतन्त्र, लोकतन्त्रलाई सुरक्षा छैन है । खतरा कोबाट छ भन्दाखेरि लोकतन्त्र–गणतन्त्रविरोधीबाट त हुने नै भयो । लोकतन्त्र–गणतन्त्रका लागि लडेका, जेलनेल खाएका, लोकतन्त्रको कुरा गर्ने, प्रजातन्त्रको कुरा गर्ने, गणतन्त्रको कुरा गर्ने, उनीहरूबाट अझ खतरा छ,’ उनले भने । लोकतन्त्र र गणतन्त्रका पक्षधरहरू सरकारमा पुगेसँगै बरु भ्रष्टाचार, राष्ट्रघात र लुटको शृंखला बढेको उनको टिप्पणी छ । माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालमा पुनः राजतन्त्र फर्कने सम्भावना नभएको जनाएका छन् । मोदीले राजतन्त्रलाई भूत–पिशाचको संज्ञा दिँदै अब कहिल्यै नफर्किने दाबी गरे । उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि हजारौं नेपालीले बलिदान गरेका छन् र यसको विकल्प राजसंस्था हुनै नसक्ने स्पष्ट पारे । ‘चिहानमा गइसकेको भूत फेरि बिउँझन्छ भनेर कल्पना गर्नु दिवास्वप्न मात्र हो । देश अगाडि बढिसकेको छ, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको छ,’ मोदीले भने । प्रतिनिधिसभा बैठकमा राजाको अभिव्यक्तिलाई लिएर गर्मागर्मी बहस हुँदै गर्दा उता राष्ट्रिय सभाको बैठकमा समेत यो बिषय उठेको छ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले पुनः राजा बन्ने चाहना परित्याग गरेर प्रजातान्त्रिक राजनीतिक गरी प्रधानमन्त्री बन्न पूर्वराजा शाहलाई सुझाव दिएका छन् । राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले आफूलाई राजा बनाऊ भन्नु उचित नहुने टिप्पणी उनले गरे । पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई २०८४ मा हुने चुनावमा भाग लिनसमेत उनले सुझाव दिए । ‘राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित हुँदैन,’ गौतमले भने, ‘तपार्इंले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् र केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् ।’ निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बनेर देशको चौतर्फी विकास र समृद्धि कायम गर्न उनले आग्रह गर्दै उनले भने, ‘निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार