सकारात्मक बिचार र महेनतलेनै उचाइमा पुगेका पुरुषोत्तम

मंगलबार, १३ फागुन २०८१
काठमाडौं : पुरुषोत्तम दाहाल एक युवा उद्यमी हुनुहुन्छ । सानै उमेरमा स्वउद्यममा लागेका दाहाल धेरैका लागि प्रेरणाका स्रोत हुन सक्नुहुन्छ । हमेसा सकारात्मक सोच र विचारका धनी दाहालले आजका दिनमा प्राप्त गरेको उपलब्धि सानो होला, तर धेरैले अवलम्बन गर्न सक्ने उदाहरण पनि हो । जीवनी किताबमा पढेर होइन, व्याबहारमा उतारेर सफलता हासिल गर्न सकिन्छ । आजभन्दा मात्र ३३ वर्ष अघि तेह्रथुमको मेन्छेयाम गाउँपालिकाको चिम्फाङमा माता मैनाकुमारी र पिता गोविन्द प्रसाद दाहालको सातौँ सन्तानको रूपमा दाहालको जन्म भएको हो ।
परिवारको कान्छो सन्तानका रुपमा जन्म लिएका दाहाललाई बुबाको शिक्षा क्षेत्रमै भएको संलग्नताले अध्ययनको मार्गमा अघि बढ्न सहज त भयो तर तत्कालीन देशको राजनीतिक परिस्थितिले विद्यालय शिक्षा हासिल गर्न नै घरबाट बाहिरिनुपर्‍यो ।
१२ वर्षको उमेरमा बाबुआमाको काखबाट अलग भएर निर्जन काठमाण्डौमा शिक्षाका लागि डेरा सर्नु आफैमा कम सकसपूर्ण काम होइन तर इच्छाले जुराउने उपायले नै उहाँलाई माध्यमिक शिक्षा काठमाण्डौबाट पूरा गर्ने प्रेरणा मिल्यो । पढाइमा मध्यम दाहालले अध्ययनका दौरान भोगेको असहजता र आर्थिक दुरूहपन पनि एक विरहको कथा हुन सक्छ तर त्यसैले हो सायद जीवनलाई थप स्पातिलो बनाउने । ग्रामीण परिवेशबाट शिक्षाको खोजीमा काठमाडौँ हानिनु जति असहज कदम थियो, त्योभन्दा सकसपूर्ण थियो काठमाडौँमा अध्ययनसँगै पेटको आगो निभाउने काम । त्यसैले सडक छेउका बिजुली बत्तीका पोलमा पोस्टर टाँस्नेदेखि पत्रिका पु¥याउनेसम्मका कामले नै दाहाललाई आज पनि कामप्रतिको सम्मान र समता सिकाएको छ । आजभन्दा १७ वर्ष अघि एसएलसी पास गरेका दाहालले एक दिन पनि कामविहीन हुनुपरेको छैन, किनकि उहाँले कामको उचाइ होइन आवश्यकताको गहिराइ नापेर काम गरिरहनुभयो । जस्तै कठिनाइमा पनि अध्ययनलाई निरन्तरता दिनुभएका उहाँले बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नुभएको छ । निरन्तरको लगाव र केही आफैँ गर्ने मात्र होइन अरूलाई पनि स्वदेशमै रोजगारी सृजना गर्नुपर्छ भन्ने भावना र अठोटले नै उहाँ विगत १० वर्षदेखि टाइम्स पब्लिकेसनको सिइओकारुपमा कार्यरत हुनुहुन्छ । उक्त पब्लिकेशनले कक्षा नर्सरीदेखि स्नातकोत्तरसम्मका विभिन्न विषयका पाठ्यपुस्तक छपाइ, वितरण र तालिम तथा अभिमुखीकरणसम्मका काम गर्दै आएको छ। कामको दौरानमा भ्रमण सिकाइ पनि हो । यसैले पनि दाहालले जापान, जर्मनी, बेलायत, स्पेन, दुबइृ, चीन लगायत विश्वका झन्डै २० भन्दा बढी देश भ्रमण गर्नुभएको छ भने विभिन्न तालिम र सेमिनारमा कार्यपत्र पेस गर्नुभएको छ। २ सयभन्दा बढी परिवारलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको दाहाल नेतृत्वको व्यवसायले अप्रत्यक्ष रुपमा ठुलो सङ्ख्यामा रोजगारी र राजश्वमा उल्लेखनीय योगदान गरेको छ। आफ्नो प्रत्यक्ष नेतृत्वका अलावा उहाँले विभिन्न व्यावसायिक क्षेत्रमा लगानी पनि विस्तार गर्दै लग्नुभएको छ। सानै उमेरमा नर्थ प्वाइन्ट हाई स्कुल इटहरी, तालिमको क्षेत्रमा अग्रणी सीटीएफ नेपाल, मेडिमील टेक्नोलोजी, प्रथमा इन्भेस्टमेन्ट, एलिट क्यापिटल र कोरोना इन्टरनेशनल पब्लिकेसनमा पनि उहाँको प्रत्यक्ष परोक्ष संलग्नता छ । व्यवसायमा पनि नेतृत्वदायी भूमिकामा रहन रुचाउने दाहालले आफूलाई व्यावसायिक यात्रा र सामाजिक अभियानमा उम्दा साबित गर्दै आउनुभएको प्रमाणका रूपमा उहाँ हाल पाठ्यपुस्तक तथा स्टेसनरी सङ्गठन, रोटरी इन्टरनेशनल, नेपाल प्रकाशक सङ्घ , युथ सोसाइटी,सिइओ क्लबमा सक्रिय हुनुहुन्छ । समग्रमा सकारात्मक सोचका धनी पुरुषोत्तम दाहालको जीवन जति खुला किताब जस्तो छ, उति नै पढ्न मन लाग्ने प्रेरणादायी अधुरो कथाजस्तो पनि छ ।      

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार