काठमाडौँ शैक्षिक मेलामा आएका विद्यार्थी भन्छन् : यस्तो मौका सबैले पाउँदैनन्

आइतबार, १८ फागुन २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला आयोजना गर्यो । मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नविनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गरे । शारदा माध्यमिक विद्यालयका कक्षा नौ ९९०मा अध्ययनरत विद्यार्थी समीर भट्ट पनि आफ्नो कला देखाउन पाउँदा दङ्ग भए । सैद्धान्तिक ज्ञान मात्र लिएका उनले शैक्षिक मेलामा प्रयोगात्मक रूपमा देखाउन पाउँदा खुसी लागेको बताए । उनले भने,‘मेला एकदमै रमाइलो लाग्यो । सबैलाई आर्ट एण्ड क्रिएचर बारेमा बताउँदा रमाइलो लाग्यो । नाच र गीत हेर्न पाइयो । सबै स्टलमा पुगेर सोध्ने–बुझ्ने गर्दा धेरै कुरा सिक्न पाइएको छ । मैले पनि भित्ते चित्र अर्थात् म्यूरल आर्टका बारेमा बुझाउने मौका पाएँ । मैले स्टलमा आउने मानिसहरूलाई आर्टको बारेमा जानकारी दिने काम पनि गरे ।’ यस्तै, रत्न राज्य माध्यमिक विद्यालयकी विद्यार्थी विनिस्का कोइरालाले पनि प्रदर्शनीमा सहभागी हुन पाउँदाको अनुभव सुनाइन् । उनले अवलोकनकर्ताहरूले थप प्रोत्साहन गरेको भन्दै खुसी भइन् । उनले आफूले जानेको कलालाई देखाउन र मानिसहरूसँग अन्तरक्रिया गर्न पाएकोलाई ठुलो उपलब्धिका रूपमा लिएको पनि बताइन् । उनी भन्छिन्,‘हामीले शैक्षिक मेलामा कार्पेटिङ तथा उठकार्भेटको स्टल राख्यौँ । आफूले जानेको कुरा देखाउन पाउँदा एकदमै खुसी लागेको छ । स्टलमा राखेको कुरामा मानिसहरूले जिज्ञासा राख्दा राम्रो लाग्छ । आफूले जानेको कुराहरू अवलोकन गर्न आउने मानिसहरूले पनि राम्ररी सुनिदिनुभएको छ । हामीले मानिसहरूसँग अन्तरक्रिया गर्न पायौँ । यस्तो अवसर सबैले पाउँदैनन् । आफूले जानेको कुरा अरूलाई भन्न पाउनु पनि ठुलै उपलब्धि हो ।’ महानगरपालिकाले विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालेका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरेको थियो । प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए । बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित भएका थिए । यस्तै नेपाल भाषाको सिकाइ विधि, मौलिक संस्कृति, भेष भूषा झल्काउने प्रदर्शनी, मौलिक बादन तथा गायन प्रस्तुति देखाइएको थियो । मेलामा विद्यार्थी नमुना संसद् अभ्यास मेलाको प्रमुख आकर्षण बन्यो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार