विराटनगर । भूमि व्यवस्थापन, कानून निर्माण तथा भू-सूचना प्रणाली विकासबारे छलफल गर्न सातै प्रदेशका भूमि व्यवस्था मन्त्रीहरू विराटनगरमा भेला भएका छन्।
कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा आयोजित बैठकमा नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसहित सातै प्रदेशका मन्त्रीहरूको उपस्थिति रहेको छ।
संघ, प्रदेश र स्थानीय तहबीच नीति, योजना तथा विकास निर्माणका काममा समन्वय बढाउने उद्देश्यले बैठक आयोजना गरिएको हो। भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण क्षेत्रको प्रभावकारिता वृद्धि गर्ने विषयमा छलफल गर्न संघीय मन्त्री अधिकारीको अध्यक्षतामा ऐन, २०७७ को दफा २२ को उपदफा (१) अनुसार गठित विषयगत समितिको यो तेस्रो बैठक हो।
बैठकमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले स्वागत गरेका थिए। बैठकमा विभिन्न सरोकारवाला निकायका ४० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ। बैठक भोलीसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
बैठकमा भूमि व्यवस्थापन, भू-उपयोग नीति, भू-सूचना प्रणाली विकास, सहकारी नियमन तथा गरिबी निवारणका विभिन्न पक्षमा छलफल हुनेछ।
प्रदेश र स्थानीय तहबीच समन्वयात्मक नीति निर्माण, पुनः नापी तथा भूमि व्यवस्थापन सुदृढीकरण, सहकारी क्षेत्र सुधार, तथा तीन तहबीच सूचनाको आदानप्रदान प्रणालीलाई व्यवस्थित गर्ने विषयमा समेत बैठक केन्द्रित रहनेछ।
मन्त्रालयका अनुसार बैठकले विगतका निर्णयहरूको समीक्षा गर्दै भूमि व्यवस्थापन सुधार, भू-सूचना प्रणाली प्रभावकारी बनाउने तथा सहकारी क्षेत्रलाई व्यवस्थित गर्न महत्त्वपूर्ण निर्णयहरू गरीनेछ ।
प्रतिक्रिया