कोशी प्रदेश सभालाई १ घण्टा लामो प्रधानमन्त्रीको सम्बोधन : मुलुकमा केही नै भएन भन्ने भाष्य गलत

मंगलबार, २७ फागुन २०८१
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा केही नै भएन भन्ने भाष्य गलत भएका दाबी गरेका छन् । कोसी प्रदेशसभा बैठकलाई मङ्गलवार विशेष सम्बोधन गर्दै उनले जनताको अवस्थामा पनि सुधार भएको दाबी गरेका हुन् । ‘मुलुकमा केही नभएको हैन, विकास धेरै भएको छ । ३३ प्रतिशत महिला आज ‘पार्लियामेन्ट’मा हुनुहुन्छ । हामीले आरक्षणभन्दा पनि क्षमता वृद्धिको अवसरतिर ध्यान दिनुपर्छ । दक्ष नागरिक उत्पादन आजको आवश्यकता हो । सबै कुरा मानवको हित, कल्याण र भविष्यका लागि हाम्रा प्रयासलाई सचेत र योजनाबद्ध ढङ्गले अगाडि बढाउनुपर्छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा परिणत हुने क्रममा रहेको उल्लेख गरे । प्रदेशसभा बैठकलाई १ घण्टा ५ मिनेट सम्बोधन गरेका उनले वादविवादमा अल्झिन मन नभएको र देशको मुहार फेर्नेतर्फ आफू केन्द्रित भएको उल्लेख गरेका छन् । जनताका कुरा सुन्न र जनताका भावनालाई सम्बोधन गर्न आफूले चाहेको ओलीको भनाइ छ । उद्यमशीलता बिना मुलुक अघि बढ्न नसक्ने उल्लेख गर्दै ओलीले अरूको सहायतामा बाँच्छु भन्ने कुरालाई त्याग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नेपाली अब आफ्नै बलमा बाँच्नुपर्ने बताए । ‘विभिन्न उत्पादनसँग कृषकलाई जोड्न सकिन्छ । साना उद्योग स्थापना गर्न जनतालाई सहयोग गर्नुपर्छ । नजानेमा सिकाउनुपर्छ । जनप्रतिनिधिले पुलको काम गरौँ । यसो भयो भने जनतालाई विकासमा जोड्न सकिन्छ,’ ओलीले भने । भावनामा बगेर नभई कन देशलाई अघि बढाउनेतर्फ केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । उत्पादन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका लागि विज्ञान र प्रविधिको प्रयोग गर्नुपर्नेमा उनको जोड छ । ‘दुनियाँ अगाडि बढिसकेको हुन्छ । हामी ठुला कुरा गरेर बस्छौँ । अनि पछाडि पर्छौँ । हाम्रो देश गरिब भइरहन्छ,’ ओलीले भने,‘जनतालाई बचतको स्थितिमा पु¥याउन सकियो भने र आम्दानीलाई बचतमा परिणत गरियो भने देश धनी हुन्छ । जनता धनी हुन्छन् । जनताको जीवनस्तर पनि उक्सिन्छ ।’ उनले प्रदेशसभाले राम्रा काम तर्जुमा गर्ने र त्यसको कार्यान्वयन प्रदेश सरकारले राम्ररी अगाडि बढाउने विश्वास लिएका छन् । उनले प्रदेश सरकारलाई सहयोग गर्न सङ्घीय सरकार तयार रहेको बताए । जनता र जनप्रतिनिधिका कुरा सुन्नका लागि सरकार बनेको उनको जिकिर छ । ओलीले राजनीतिक व्यवस्थासँगै मुलुकको अवस्था पनि परिवर्तन भएको बताए । उनले केही भएन भन्ने भाष्य गलत भएको दाबी गरे । प्रधानमन्त्री ओलीले कृषिको क्षेत्रमा अलि ध्यान नपुगिरहेको बताए । कृषिलाई विकास र समृद्धिको आधार बनाउने योजनामा सरकार रहेको ओलीले बताए । आधारभूत आवश्यकता पूरा गरी गरिबी हटाएर समृद्धिको बाटोमा लाग्न सरकार प्रतिबद्ध रहेको ओलीको भनाइ छ । सरकारले कृषि, पर्यटन, व्यापारसहित बृहत् क्षेत्रमा काम गरिरहेको बताउँदै उद्यमशीलताको विकासका लागि सरकारले ध्यान दिइरहेको उनले बताए । ‘निर्माण व्यवसायको क्षेत्रमा नै २० लाख श्रमिक चाहिएको छ । तर, ६–७ लाख मात्रै श्रमिक छन् । त्यो पनि पारिपट्टी (भारत)बाट ल्याएर काम गर्नु परेको छ,’ ओलीले भने । ओलीले श्रमिकमा दक्षता र व्यावसायिक तालिमको अभाव रहेको उल्लेख गरेका छन् । ‘श्रमिकलाई व्यावसायिक तालिमको अभाव छ । जसका कारण श्रमिकले काम नपाउने समस्या छ । अनि काम पाइएन भनेर मान्छे विदेश जान्छन् । प्रविधिको प्रयोग गर्न श्रमिकले सकेका छैनन् । प्रविधिको प्रयोगमा श्रमिकलाई दक्ष बनाउन हामीले पहल गरिरहेका छौँ,’ उनी भन्छन् । उनले केही गैरसरकारी तत्त्व सहकारीमा प्रवेश गरेको पनि बताए । ‘गैरसरकारी तत्त्वलाई सहकारीमा प्रवेश गर्न दिन हुँदैन थियो । त्यसले गर्दा सहकारीको बदनाम भयो,’ उनले भने । कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवस्थित गर्नेतर्फ सरकारले काम गरिरहेको उनको भनाइ छ । ‘मुलुकलाई पछाडि फर्काउने हैन । अगाडि बढाउने हो । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोक मार्गजस्ता ठुलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ । दिगो विकास लक्ष्य भेट्नका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको छ,’ ओलीले भने । उनले कोसी प्रदेशमा गरिबी निवारण चाँडो गर्न सकिनेसमेत बताए । २० प्रतिशतभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको भन्दै उनले कोसी प्रदेशमा निरपेक्ष गरिबीको सङ्ख्या अलि थोरै रहेको उल्लेख गरे । कोसी ओलीको गृह प्रदेश पनि हो । उनले कोसी प्रदेशको विकास तीव्र गतिमा हुनुपर्नेमा जोड दिएका छन् । व्यवस्थाविरुद्ध आवाज उठ्न थालेको भन्दै उनले योभन्दा राम्रो प्रणाली के हो ? भनेर प्रश्नसमेत गरेका छन् । राम्रो प्रणालीका लागि तयार रहेको बताउँदै उनले लोकतान्त्रिक प्रणालीको बाटोबाट नै सरकार अघि बढ्ने स्पष्ट पारे । यो पनि https://pradeskhabar.com/?p=91026

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार