कोशी प्रदेशबाट होलीमा उच्छृङ्खल गतिविधि गर्ने १३३ जना पक्राउ, १ हजार १ सय सवारीसाधन नियन्त्रणमा

शुक्रबार, ०१ चैत्र २०८१
विराटनगर : होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले कोशी प्रदेशबाट १ सय ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १ हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८, उदयपुरबाट १२ जना पुरुष तथा झापाबाट ७ जना पक्राउ गरेको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीका अनुसार होली खेलेर रमाइलो गर्ने नाममा कानुन विपरीतका गतिविधिमा संलग्न भएकाहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको उनले बताए । त्यस्तै, नियम उल्लङ्घन गरेर चलाइएका १ हजार ९९ वटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाबाट ४ सय २७, सुनसरीबाट ३ सय ६६, मोरङबाट २ सय ६७ र उदयपुरबाट ३९ वटा सवारीसाधन नियन्त्रणमा लिइएको जानकारी डीआईजी अधिकारीले दिए । उनका अनुसार नियन्त्रणमा लिइएकामध्ये सबैभन्दा धेरै २ पाङ्ग्रे सवारीसाधन छन् । प्रहरीले २ पाङ्ग्रे १ हजार २१ वटा, ३ पाङ्ग्रे ५९ र ४ पाङ्ग्रे १९ वटालाई नियन्त्रणमा लिएर दिनभर ‘होल्ड’ गरेको हो । नियन्त्रणका लिइएका अधिकांश सवारीसाधन चालकले मापसे (मादक पदार्थ सेवन) गरेर चलाएका थिए । ती सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घनको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार