लेटाङको कुखुरा फार्ममा आगलागी हुँदा १५ लाखको क्षति

विहीबार, १४ चैत्र २०८१
विराटनगर । मोरङको लेटाङमा रहेको एउटा कुखुरा फार्ममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । लेटाङ नगरपालिका–२ खैरेनीमा भोलाराम श्रेष्ठले सञ्चालन गर्दै आएको कुखुरा फार्ममा बुधवार दिउँसो आगलागी हुँदा सुपारीका बोटसमेत मरेका छन् । प्रहरीका अनुसार कुखुरा फार्म श्रेष्ठको घरदेखि करिब १५ मिटर पूर्वमा थियो । दिउँसो ३ बजेतिर अचानक आगलागी हुँदा आगोले जलेर फार्म वरपर रहेका सय वटा सुपारी र २ वटा लिचीका बोट पनि मरेका छन् । त्यस्तै, फार्मसहित फार्मभित्र राखिएको १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आगलागी भएको फार्ममा कुखुरा थिएनन् । नजिकैको अर्को फार्ममा कुखुरा थिए । कुखुरा रहेको फार्म भने सुरक्षित रहेको र घटनामा मानवीय एवं चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगो करिब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपि, विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार