एक ट्याक्टरलाई लोड गरेर फर्किन एक घण्टा पनि लाग्दैन भने सोही ट्याक्टर फेरि बालुवा लोड गरेर जान्छ। तीनदेखि चार वटा ट्याक्टरहरू निरन्तर तयारी अवस्थामा राखिन्छन् र चार–पाँच जनाको समूहले लोड गर्ने काम गर्छ।
स्थानीयका अनुसार सशस्त्र प्रहरीसँग मिलेमतो गरेर रातदिन बालुवा–गिट्टीको तस्करी भइरहेको छ । तस्करी रोक्ने सट्टा सशस्त्र प्रहरी नयाँ अनुहार देख्नेबित्तिकै निगरानी गर्न लाग्ने गरेका छन्। रिपोर्टिङका क्रममा पनि सशस्त्रले तस्करीको निगरानीभन्दा पत्रकारको हाउभाउमा बढी चासो देखाएको देखिएको छ।
दरैयाबाट नरेश यादवको समूहले यो तस्करी सञ्चालन गरिरहेको बताइएको छ। यादव समूहले विभिन्न क्रसर उद्योगबाट किनिएको बालुवा–गिट्टी सीमामा भण्डारण गरी भारत पुर्याउने कार्यमा संलग्न छ। स्थानीयका अनुसार उनीहरूले नै दरैया–टिकुलिया वारपार गर्न सहज हुने बाटो निर्माण गरेका हुन्। यादवले बाटो आफूले नबनाएको दाबी गरे पनि खुलेआम बाटो प्रयोग भइरहेको तथ्यले उनीहरूको संलग्नता पुष्टि गर्छ।
उनले नेपाल र भारत दुवैतर्फ सेटिङ मिलाएर मात्र काम सहज हुने स्वीकार गर्दै अहिलेको अवस्थामा काम गर्न गाह्रो भएको बताएका छन्। विगतमा क्रसर उद्योगबाट उत्पादित बालुवा र गिट्टी भारत लैजाँदा सबै निकायलाई मिलाएर काम गरिएको पनि उनले स्वीकार गरेका छन्।
केही वर्षअघि प्रहरीले उक्त बाटो डोजर लगाएर भत्काएको भए पनि फेरि बाटो निर्माण गरी तस्करीको काम सुरु गरिएको छ। भारतीय बजारमा नेपाली नदीजन्य पदार्थको माग अत्यधिक रहेको र मूल्य पनि दोब्बर पर्ने भएकाले तस्करी मौलाएको सुरक्षा स्रोतले जनाएको छ। नेपालमा प्रतिट्याक्टर चार हजार पर्ने बालुवा भारतमा पाँच हजार भारु (झण्डै आठ हजार नेपाली रुपैयाँ) सम्ममा बिक्री हुने जानकारी स्रोतले दिएको छ।
स्थानीयवासीका अनुसार सुरक्षाकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायको मिलेमतोमा तस्करले निर्बाध रूपमा तस्करी गरिरहेका छन्। राम्रै रकमको लेनदेनमा तस्करी सहज बनाइएको बताउँदै स्थानीयले तस्करीमा राज्य संयन्त्र नै संलग्न भएको आरोप लगाएका छन्।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले आफूले तस्करीको जानकारी पाएपछि कडाइ गरिएको दाबी गरे। करिब अढाई महिनाअघि पदभार ग्रहण गरेका घिमिरेले तस्करी रोक्न निर्देशन दिएको बताउँदै यदि पुनः यस्तै अवस्था भेटिएमा सम्बन्धित सुरक्षाकर्मीमाथि कारबाही हुने चेतावनी दिए। यद्यपि तस्करी रोकिएको देखिँदैन।
वडाध्यक्ष उद्धवकुमार भुजेलले खुला सीमाको फाइदा उठाएर तस्करी भइरहेको स्वीकार गरे। उनी संयोजक रहेको सीमा निगरानी समितिले अनुगमन गर्दै यस्तो गतिविधि रोक्नुपर्ने भए पनि समितिले प्रभावकारी भूमिका निर्वाह नगरेको देखिन्छ।
भुजेलले सीमाको अनुगमन गरिने दाबी गरे पनि बाटै बनाएर तस्करी भइरहेकोबारे अनभिज्ञता जनाए।
भुजेलले चोरी–पैठारी रोक्न स्थानीय तहबाट प्रयास भइरहेको उल्लेख गर्दै, वडास्तरबाट तस्करी नियन्त्रण सम्भव नभएको बताए। सीमामा सुरक्षा निकायले काम गर्नुपर्ने बताउँदै उनले माथिल्लो निकायलाई जानकारी दिइएको र पहल भइरहेको बताए।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बालुवा र गिट्टीको तस्करी रोक्न तत्काल प्रहरी परिचालन गरिने जानकारी दिएका छन्।
प्रतिक्रिया