सरकार–शिक्षक आ–आफ्नै अडानमा

बुधबार, २७ चैत्र २०८१
काठमाडौं : साता दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका शिक्षकहरुलाई वार्तामा आउन सरकारले पुनः आह्वान गरेका छ । मंगलबार एक सूचना जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आग्रह गरेको हो । यसअघि मन्त्रालयले चैत २१ र २२ गते वार्तामा बोलाएपनि शिक्षक महासंघले अस्वीकार गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाद्वारा मंगलबार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म यस मन्त्रालयसँग औपचारिक रूपमा त्यस्तो छलफल तथा परामर्श सकेन र हालसम्म पनि ध्यानाकर्षण कार्यक्रम निरन्तर नै रहेको सन्दर्भमा यस मन्त्रालयमा भोलि मिति २०८१–१२–२७ गतेका दिन वार्ता र संवादका लागि राहत एवम् अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक-कर्मचारीको प्रतिनिधित्व हुनेगरी उपस्थित हुनका लागि नेपाल शिक्षक महासंघलाई पुनः आमन्त्रण गरिन्छ । साथै, वार्ता र संवादको समय तालिका आपसी सल्लाह अनुसार तय गरिनेछ ।’
सडक आन्दोलनमा उत्रिएका शिक्षकले टर्च बालेर सरकार खोजे
प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री विद्या भट्टराईले भने २० चैतदेखि आन्दोलनरत शिक्षकलाई संवादमा आउन आग्रह गरे । प्रधानमन्त्री ओलीले शिक्षकको आन्दोलन र माग’बारेमा सोमबार साँझ अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री भट्टराई, मुख्यसचिव र शिक्षा सचिवसँग छलफल गरेका थिए । छलफलपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै शिक्षक महासंघका प्रतिनिधिसँग संवादमार्फत समस्याको छिटो समाधान खोजिने बताएका छन् । तर, शिक्षकहरूले भने आफ्नो एकसुत्रीय माग विद्यालय शिक्षा ऐन लागू गर्नुपर्ने अडान छाड्न मानेका छैनन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै शिक्षक प्रतिनिधिसँग छलफलमार्फत समस्या समाधान हुने अपेक्षा गरिएको बताएकी छन् । शिक्षकहरूको माग’बारेमा प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र सचिवहरूसँग छलफल भएको उनको भनाइ छ । सरकारले वार्तामा बोलाए पनि शिक्षकहरूले वार्ता समिति गठन गरेका छैनन् भने आफ्नो मागबाट पछि हटेका पनि देखिँदैनन् । नेपाल शिक्षक महासंघले आफूसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन गर्दै ऐन जारी गर्ने प्रत्याभूति नभएसम्म सडकबाट नफर्किने अडान लिएको छ । यसअघि आफूसँग भएका सहमति कार्यान्वयन गर्न ऐन जारी गर्नुपर्ने आफूहरूको स्पष्ट माग रहेकाले वार्ताको औचित्य नरहेको शिक्षकहरूको भनाइ छ नेपाल शिक्षक महासंघले विगतमा भएको सहमति कार्यान्वयन गर्न र विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ भने चैत २५ देखि शिक्षकहरू अनिश्चितकालीन शैक्षिक हड्तालमा उत्रिएका छन् । विद्यालय शिक्षासम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केही दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा विचाराधीन छ । उक्त विधेयक संसदको चालु अधिवेशनबाटै पारित गने भनिएपनि अगाडि बढ्न सकेको थिएन । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू आन्दोलनमा छन् । यसैक्रममा उनीहरूले २० चैतदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् । सोमबारदेखि दोस्रो चरणको आन्दोलनअन्र्तगत शैक्षिक हडताल घोषणा गर्दै आन्दोलन सुरु गरेका शिक्षकहरूले मंगलबार टर्च लाइट बालेर सरकारको सांकेतिक विरोध गरेका छन् । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने एकसुत्रीय माग राख्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहँदा सरकारले भने वार्ता र सहमतिमा आउन आग्रह गरिरहेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरूले दिउँसै टर्च बालेर सरकारको खोजीस्वरूप सांकेतिक विरोध गरेका छन् । यसअघि विद्यार्थी शिक्षा विधेयक २७ भदौ २०८० मा संसद्मा दर्ता भएको थियो । यसअघि पनि विधेयकमा आएका प्रावधानमा असहमति जनाउँदै महासंघको नेतृत्वमा काठमाडौंमै शिक्षकहरूले आन्दोलन गरेका थिए । त्यतिबेला सरकारले माग पूरा गर्ने सहमति गरेसँगै शिक्षकहरू तीनदिने प्रदर्शन स्थगित गरेर विद्यालय फर्केका थिए । १८ महिनासम्म पनि विधेयक अघि नबढेको भन्दै शिक्षकहरूले पुनः काठमाडौं केन्द्रित आन्दोलन गरेका हुन् । विधेयक दर्ता हुनुअघि २०७८ फागुनमा पनि सरकारले महासंघसँग ५१ बुँदे सहमति गरेको थियो । त्यतिबेलाको सहमतिमा माध्यमिक शिक्षासम्मको एकल अधिकार स्थानीय तहको हुने संविधानको व्यवस्थाबाट सरकार पछि हटेको थियो । काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले २५ चैतदेखि आमशैक्षिक हडताल घोषणा गरेका छन् । शिक्षकहरूको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणसमेत प्रभावित हुँदा नतिजा प्रकाशनमा ढिलाइ हुने चिन्ता छ । शिक्षकहरूले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिठी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए । मंगलबार उनीहरूले मोबाइल र हेड ल्याम्प प्रयोग गरेर सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन् । शिक्षकले २०७५, २०७८ र २०८० सालमा सरकारले गरेको सहमतिअनुसार शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलन थालेका हुन् । सरकारले भने शिक्षा, स्वास्थ्य समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी रहेकाले वार्ता संवादमा आउन शिक्षकहरूलाई पटक–पटक आग्रह गर्दै आएको छ । यसअघि शिक्षक तथा कर्मचारीले २ असोज २०८० देखि काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेपछि सरकारले ६ बुँदे सम्झौता गरेको थियो । सो सम्झौतामा शिक्षा मन्त्रालयले संसद्को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र संघीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने भनिएको थियो । त्यस्तै, १२ असोज २०८० मा राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी, पेन्सन वञ्चितलगायतसँग थप पाँचबुँदे सहमति गरेको थियो । सो सहमतिलाई समेत मन्त्रालयले संसद्मा विधेयक संशोधनका लागि पठाउन आवश्यक सहजीकरण गर्ने भनिएको थियो । दुईपटक गरिएको ११ बुँदे सहमतिअनुसार सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न शिक्षा समितिमा पेस गरेको थियो भने शिक्षक तथा कर्मचारीले सांसदहरूलाई सरकारसँग गरिएको सहमतिअनुसार संशोधन प्रस्ताव हाल्न लगाएका थिए । जसले गर्दा १ सय ५२ सांसदले संशोधन प्रस्ताव हालेका थिए । नेपाल शिक्षक महासंघले सरकारले आफूसँग गरेको सहमतिअनुसार ऐनमा समावेश गर्नुपर्ने भन्दै २२ बुँदे माग बनाएको छ । जुन गत वर्ष सरकारले गरेको सहमतिअनुसारकै हुन् । के–के छन् २२ बुँदे माग ? विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने विषयमध्ये पहिलो अस्थायी प्रकृतिका शिक्षकहरूको माग हो । महासंघले अघि सारेका मागमा अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलबलगायत छन् । त्यस्तै, द्वन्द्वपीडित शिक्षक, संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत महासंघले उठान गर्दै आएको छ । अस्थायी प्रकृतिका शिक्षक राहत, साबिक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेरहद नलगाई स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन ह्यान्डसेकको व्यवस्था गर्नुपर्ने माग महासंघको छ । सो मागका विषयमा गत वर्ष सरकारसँग सहमतिसमेत भएको थियो । लामो समयदेखि राहत तथा करारका रूपमा काम गर्दै आएका शिक्षकलाई दरबन्दी परिणत गरेर स्थायी गर्नुपर्ने माग अघि सारेको हो । २०७५ सालको आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी–करार शिक्षकले पनि यो अवसर पाउने उल्लेख छ । अबदेखि फरक खालको सेवा सुविधा हुने शिक्षक कोटा सिर्जना नगर्ने, शिक्षक दरबन्दी पुनर्वितरण तथा मिलान कार्यदलले दिएको सुझावअनुसार नयाँ शिक्षक दरबन्दी थप गरी वितरण गर्ने तथा अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने व्यवस्था गर्नुपर्ने महासंघको माग छ । हाल ४१ हजार ३ सय ४४ राहत दरबन्दीका शिक्षक छन् । उनीहरूलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्दा र कर्मचारी सञ्चय कोषको हुन आउने दायित्व करिब १५ अर्ब १५ करोड लाग्ने अनुमान शिक्षा मन्त्रालयको छ । विद्यालय कर्मचारी सम्बन्धमा महासंघ र सरकारबीच गत वर्ष भएको सहमतिअनुसार विद्यालय कर्मचारीलाई दरबन्दी सिर्जना गर्ने भन्ने थियो । तहअनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्ने र महासंघसँग भएको सहमतिअनुसार तह (खरिदार–नासु–अधिकृत) तोकी शिक्षक सेवा आयोगबाट स्थायी गर्नुपर्ने माग महासंघको हो । अवकाश भएका र अवकाश लिन चाहने कर्मचारीलाई सुविधा दिने व्यवस्था गर्न माग गरिएको हो । हाल देशभर २७ हजार ८ सय ९० विद्यालयमा कार्यालय सहयोगी र ७ हजार १ सय ७८ विद्यालय कर्मचारी छन् । उनीहरूलाई दरबन्दी कायम गराउने हो भने ८ अर्ब ९५ करोड रुपैयाँ लाग्ने अनुमान शिक्षा मन्त्रालयले गरेको थियो । बालकक्षामा शिक्षक सम्बन्धमा बाल विकास शिक्षालाई विद्यालय संरचनाभित्र ल्याउने र बाल विकास कोटालाई स्वीकृत कोटा (प्राथमिक तृतीयसरह)मा परिणत गरी महासंघसँग भएको सहमतिबमोजिम शिक्षक सेवा आयोगबाट स्थायित्व प्रक्रियामा लैजाने माग महासंघको छ । हाल ३० हजार ४ सय ८८ बालविकास शिक्षकहरू छन् । उनीहरूलाई प्राथमिक तृतीयसरह परिणत गर्न १३ अर्ब रुपैयाँ लाग्ने अनुमान शिक्षा मन्त्रालयको छ । स्थायी शिक्षकको सम्बन्धमा स्थायी शिक्षकको सम्बन्धमा विभिन्न खालका माग अघि सारिएको छ । जसमा शिक्षक बढुवाको व्यवस्थापन गर्नुपर्ने, तलब र ग्रेड कायम गर्नुपर्ने माग छन् । शिक्षक बढुवामा चार श्रेणी (तृतीय, द्वितीय, प्रथम र विशिष्ट)को व्यवस्था गरी बढुवाको अनुपात वृद्धि क्रमशः ६०ः२०ः१०ः५ गर्नुपर्ने, हरेक १० वर्षमा बढुवा हुने प्रबन्ध गर्ने (आवधिक बढुवा), आवश्यक शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको बढुवा गर्दा तहगत (प्राथमिकबाट निमावि र निमाविबाट माध्यमिक) हुने व्यवस्था गर्नुपर्ने महासंघको माग छ । त्यस्तै, शिक्षण पेसाका केही तह र श्रेणी (प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निमावि तृतीय र मावि प्रथम)को उच्चतम ग्रेड संख्या समान तहका निजामती सेवाका कर्मचारीभन्दा कम रहेकाले शिक्षकको तलब र ग्रेड समान तह र श्रेणीका निजामती कर्मचारीको भन्दा कम हुनेछैन भन्ने ऐनमै उल्लेख गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, तल्लो तहमा स्थायी भएका शिक्षकको हकमा हरेकपटक खुला पदमा शिक्षक सेवा आयोग खुल्दा २५ प्रतिशत पद आन्तरिक प्रतिस्पर्धाका लागि छुट्याउनुपर्ने समेत उनीहरूको माग छ । विद्यालय शिक्षा ऐन जारी भएको मितिलाई प्रस्थान बिन्दु मानी यसअघि स्थायी भएका सबै शिक्षकका लागि पुरानै प्रणालीअनुसार निवृत्तिभरण पाउने व्यवस्था गर्ने र त्यसपछि स्थायी हुने शिक्षक–कर्मचारीको हकमा योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने माग छ । विश्वविद्यालयमा जस्तै निवृत्तिभरण प्रयोजनका लागि शिक्षकको सबै अस्थायी अवधि गणना हुने व्यवस्था गर्नुपर्नेसमेत माग छ । तल्लो तहमा स्थायी भएको शिक्षक खुला परीक्षाबाट माथिल्लो तहमा स्थायी हुँदा उसले पाउने तलब तल्लो तहमा स्थायी हुँदा पाएको तलब तथा ग्रेडको योगभन्दा कम नहुने व्यवस्था गर्नुपर्ने समेत माग छ । द्वन्द्वपीडित शिक्षक सम्बन्धमा द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्थामा बसेर लामो सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी नियमानुसार उपदान वा निवृत्तिभरण दिने व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ । जनआन्दोलनका घाइते तथा द्वन्द्वपीडित शिक्षकहरूको उपदान तथा निवृत्तिभरण शीर्षकमा ३० करोड खर्च हुने अनुमान शिक्षा मन्त्रालयको छ । सो प्रकृतिका करिब ५ सय शिक्षक कार्यरत छन् । संस्थागत विद्यालयका शिक्षक सम्बन्धमा संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह कायम गर्न अनिवार्य व्यवस्था गर्नुपर्ने समेत माग छ । यस्ता शिक्षकको जिल्लास्थित शिक्षासम्बन्धी कार्यलयमा रेकर्ड अद्यावधिक राख्ने र सबै शिक्षक–कर्मचारीका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने तथा सामुदायिक विद्यालयको निजी स्रोतमा काम गर्ने शिक्षक–कर्मचारीका लागि पनि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने माग छ । प्रधानाध्यापकको व्यवस्था सम्बन्धमा प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने र ५ वर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोगमार्फत प्रधानाध्यापकको पदपूर्ति गर्नुपर्ने महासंघको माग छ । प्रधानाध्यापकलाई प्रशासनिक तथा प्राज्ञिक नेतृत्व गर्ने बलियो र जिम्मेवार पदाधिकारीका रूपमा विकास गर्नुपर्ने र विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीको अवस्थाको नियमित अनुगमनका लागि महासंघको प्रतिनिधित्वसहित अनुगमन समिति बनाउनुपर्ने माग छ । शिक्षण काउन्सिल सम्बन्धमा महासंघले शिक्षकको रजिस्ट्रेसन, तालिम र पेसागत विकासका क्षेत्रमा काम गर्नेगरी अधिकार सम्पन्न शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ । विभागीय कारबाही शिक्षकको विभागीय कारबाहीको अधिकार जिल्ला, प्रदेश र संघका कार्यालयमा विभाजन गरी व्यवस्थापन गर्नुपर्ने माग शिक्षकहरूले अघि सार्दै आएका हुन् । तर, यस विषयमा स्थानीय तहले भने खबरदारी गर्दै आएका छन् । संविधानले नै माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको भन्दै आफ्नो अधिकार बाहिर पठाएको खण्डमा आन्दोलन गर्ने स्थानीय तहले चेतावनी दिँदै आएका हुन् । जसले गर्दा यो विषय निकै पेचिलो बन्ने देखिन्छ । कार्यसम्पादन मूल्यांकन शिक्षकको कार्यसम्पादन मूल्यांकनको अधिकार विद्यालय, शिक्षासम्बन्धी जिल्लास्थित कार्यालय तथा प्रादेशिक कार्यालयमा व्यवस्थित गर्नुपर्ने माग छ । शिक्षक–कर्मचारीको सरुवा शिक्षकको सरुवाको हकमा पालिकाभित्र सरुवाका लागि सर्त तथा मापदण्डहरू निर्माण गर्ने, अन्तरजिल्ला सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्नुपर्ने माग महासंघको छ । पेसा प्रवेश उमेर शिक्षण पेसा प्रवेश उमेर ४० वर्ष गर्नुपर्ने समेत माग महासंघको छ । विद्यालय व्यवस्थापन समिति अभिभावकको नेतृत्वमा अभिभावककै बाहुल्य हुनेगरी विद्यालय व्यवस्थापन समिति गठन हुने प्रबन्ध ऐनमा उल्लेख गर्नुपर्ने महासंघको माग छ । जिल्लामा शिक्षाको एकाइ संघ र प्रदेश तहसँग सम्बन्धित रहेर काम गर्नेगरी जिल्ला तहमा शिक्षाको एकाइ राख्नुपर्ने, सो एकाइबाट एसईई, एसएलसी परीक्षाको संयोजन र व्यवस्थापन, शिक्षक सेवा आयोगबाट सञ्चालन हुने परीक्षाको संयोजन तथा व्यवस्थापन, शिक्षकको कार्यसम्पादन मूल्यांकन, शिक्षक–कर्मचारीको जिल्लान्तर सरुवा, पालिकाबीच शैक्षिक विषयमा समन्वय गर्नेजस्ता विषय हुनुपर्ने माग छ । पद समायोजन सोझै प्राथमिक द्वितीय र निमावि द्वितीयमा नियुक्त भएका र त्यसपछि बढुवा भएका सबै शिक्षकको समान तहमा पद समायोजन गर्नुपर्ने माग छ । विद्यालयको सम्पत्ति हस्तान्तरण विद्यालयको सम्पत्ति गैरशैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण गर्न नपाइने व्यवस्था गर्नुपर्ने माग गरेको छ । शैक्षिक प्रयोजनका लागिसमेत यस्तो सम्पत्ति हस्तान्तरण गर्ने अधिकार संघमा रहने व्यवस्था गर्नुपर्ने माग गरेको छ । प्राविधिक ग्रेड शिक्षण पेसा प्राविधिक पेसा भएकाले सबै शिक्षकका लागि थप प्राविधिक ग्रेडको व्यवस्था गर्नुपर्ने माग महासंघको छ । शिक्षकको मर्यादाक्रम र शिक्षक दरबन्दी शिक्षकका लागि राष्ट्रिय मर्यादाक्रमको व्यवस्था गर्नुपर्ने, हरेक विद्यालयमा शिक्षक दरबन्दी व्यवस्था गर्दा आधारभूत तह (१ देखि ५)मा प्रधानाध्यापकबाहेक कक्षागत, आधारभूत तह (६ देखि ८)मा प्रधानाध्यापकबाहेक विषयगत र मावि तहमा प्रधानाध्यापकबाहेक विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने महासंघको माग छ । हाल रहेका शिक्षक दरबन्दी (कोटा)हरू स्थानीय तहमा हस्तान्तरण नगर्ने तथा शिक्षक विद्यार्थी अनुपात १ः३० गर्नुपर्ने माग छ । नेपाल शिक्षक महासंघ विद्यालयका शिक्षक–कर्मचारीको पेसागत हक हितको प्राप्ति र संरक्षणका लागि नेपाल शिक्षक महासंघ रहने र शिक्षकको ट्रेड युनियन अधिकारको संरक्षण गर्नुपर्ने माग छ । शैक्षिक प्रसाशनमा शिक्षकको सहभागिता पालिका, जिल्ला, प्रदेश र संघमा रहेका शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट पनि लैजाने प्रबन्ध गर्नुपर्ने माग छ । अध्ययनमा आर्थिक सहयोग शिक्षकलाई उच्च अध्ययन, अनुसन्धान र लेखनका लागि बिदा तथा आर्थिक सहयोगको व्यवस्था गर्नुपर्ने मागसमेत छ । यसबाहेक मन्त्रालय वा नेपाल सरकारले निर्णय गरी गर्न सकिने कामहरू जस्तै– विद्यालय कर्मचारीको छुटेको बढी तलब दिने, मासिक तलब भुक्तानी, शिक्षक अस्पतालको व्यवस्था, शिक्षक सरुवा कार्यविधि खारेजी, निवृत्तिभरण अध्यादेशको खारेजीजस्ता काम पनि सरकारले गर्न सक्नुपर्ने महासंघको माग छ । शिक्षण पेसालाई आकर्षक, मर्यादित र पहिलो रोजाइको बनाउन यसको सेवा सुविधा अन्य पेसाभन्दा आकर्षक हुने प्रबन्ध गर्न आवश्यक रहेको महासंघको भनाइ छ । विधेयक कार्यान्वयन गर्न र महासंघसँग भएका सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब थप बजेट लाग्ने अनुमान शिक्षा मन्त्रालयको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार