इटहरी : ‘हरित नगरी इटहरी’, ‘सुन्दर नगरी इटहरी’, ‘हाम्रो इटहरी सफा नगरी’ यी नाराहरू इटहरीलाई दर्साउने नाराहरूमा पर्दछन् । वातावरण, फोहोर मैला व्यवस्थापनका साथै नागरिकको निरोगीतासंग जोडिएका नाराहरू भने अहिले आफैँ बिरामी परेको अवस्था रहेको छ ।
समयमा फोहोर नउठाउनु, जथाभाबी फोहोर फ्याँक्नुका साथै फोहोर मैला व्यवस्थापनमा समेत आवश्यक चिन्ता प्रकट नहुनुले इटहरीको फोहोर मैला व्यवस्थापनप्रति नागरिकको असन्तुष्टि चुलिँदै गएको हो ।
एक जना स्थानीय भन्छन्,‘इटहरीको पोहोर मैलाले नै सुन्दर नगरिलाई सुन्दर हुनबाट रोकिरहेको अवस्था रहेको छ ।’
माथि उल्लेख गरे अनुसार इटहरीका नारालाई साकार पार्ने गरी स्थानीयका मुद्दालाई समेट्न फोहोर मैला व्यवस्थापनको जिम्मा इटहरीको वेस्ट एण्ड इन्भाइरो म्यानेजमेन्ट प्रा.लि.ले लिएको छ । तर, नागरिककै गुनासो अनुसार इटहरी फोहोर मैलालाई उचित व्यवस्थापन गर्न नसकेको प्रा.लि.ले भने फोहोर मैला उठाएवापात असुल गर्ने रकममा भने दोब्बरले वृद्धि गरेको छ ।
इटहरी वडा नं. २० का वडा सदस्य समेत रहेका तनुज गुरुङले शुल्क बढाएको भन्दै विना जानकारी स्थानीयलाई पत्राचार गराएको भन्दै आपत्ति जनाएका छन् । उनी लेख्छन्,‘स्थानीय वडा कार्यालयसँग सहकार्य गरेर पत्राचार गरेको भए हुने थियो, तर विना जानकारी पत्राचार नगर्नु होला ।’
मासिक ५ सय रुपैयाँ बुझाई रहेका तरहरा सपिङ सेन्टरका सञ्चालकलाई चिठी पठाउँदै आगामी वैशाख महिनाबाटै दोब्बर(एक हजार) बढ्ने आशय सहितको चिठ्ठी प्राप्त गराएपछि सञ्चालक विकास गिरी सेन्टरले मनोमानी ढङ्गबाट शुल्क बढाएको गुनासो गर्दछन् ।
उनले प्रदेश खबरसँग भने, ‘यहाँ साना व्यवसायीहरूको पनि फोहोर मैलाको शुल्क बढाइएको भनेर चिठी आएको छ । व्यवसायी समेत जुर्मुराउन नसकिरहेका बेला दोब्बरले शुल्क बढ्नु लुटतन्त्र हो ।’
यता फोहोरको व्यवस्थापन गरिरहेको प्रा.लि.ले भने खर्चहरू व्यवस्थापनमा समस्या भएको भन्दै केहीमा मात्र शुल्क बढाएको जनाएको छ । संस्थाका कार्यकारी अध्यक्ष देशबन्धु कार्कीले इटहरीको बढी फोहोर निस्कने संस्थाहरुलाईमात्र शुल्कको वृद्धि गरिएको जनाए । उनले भने, ‘हामीले सबैलाई बढाएका छैनौँ जहाँबाट बढी फोहोर निस्कन्छ त्यहाँलाई मात्र बढाइको हो ।’
कार्कीको दाबी अनुसार फोहोर व्यवस्थापनको अभियान सुरु भए देखिको मूल्यमा समायोजन नभएकाले व्यवस्थापनको पक्षलाई समेत ध्यानमा राखेर मूल्य वृद्धि गर्नु परेको हो । उनले भने, ‘यो हाम्रो अनुरोध मात्रै पनि हो । अझैँ पनि फोहोर चैँ उठाउने तर शुल्क चैँ नउठाउनेहरू पनि छन् नि ।’
[caption id="attachment_98016" align="alignnone" width="1250"] शुल्क वृद्धि गर्ने इटहरीको फोहोर सङ्कलन गर्ने संस्थाको पत्र बायाँ, पछि इटहरी उपमहानगरपालिकाले शुल्क नबढाउन जारी गरेको सूचना दायाँ[/caption]
उपमहानगर भन्छ : कारबाही हुन्छ
यसबिचमा इटहरी उपमहानगरपालिकाले भने फोहोर मैलाका सन्दर्भमा आएको गुनासोलाई सम्बोधन गर्दै कार्यालयले तय गरेको फोहोर मैला सङ्कलन दस्तुर हेरफेर गरे÷गराइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
शुक्रवार एक विज्ञप्तिमार्फत भनिएको छ,‘२०७४ सालमा तय भएको फोहर मैला सङ्कलन दस्तुर बढाइएको जनगुनासो आएको हुँदा यसै उपमहानगरपालिकाको फोहोर मैला सङ्कलन तथा व्यवस्थापन गर्ने सम्बन्धमा बनेको ऐन, २०७८ र यसै उपमहानगरपालिकाको विभिन्न मितिहरूमा भएको निर्णय बमोजिम अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि विगतमा निर्धारित फोहर मैला दस्तुर तिर्न र दस्तुर बढाउने कार्य नगर्न नगराउन सर्वसाधारण सबैलाई जानकारी गराइन्छ ।’
इटहरी कसरी सफा हुन सक्छ ?
फोहोर मैलाको व्यवस्थापनको जिम्मेवारी पाइरहेको संस्थाका कार्यकारी अध्यक्ष कार्की स्वयं पनि फोहोर मैला व्यवस्थापनमा जस्तो नतिजा निस्कनुपर्ने त्यो प्राप्त नभइरहेको बताउँछन् । जसका लागि नागरिक आफैँ पनि सजक हुनुपर्ने कार्कीको भनाई छ ।
‘जथाभाबी फोहोर फाल्ने, डढाउने जस्ता कुराहरूले पनि इटहरीलाई फोहोर मैला व्यवस्थापनमा चुनौती भइरहेको छ । उनले भने, ‘यस्ता कुराहरूमा नागरिक चेतना फैल्याउन स्थानीय सरकार पनि लाग्नुपर्यो ।’
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया