विराटनगर । मोरङको रंगेली नगरपालिका–९ दोहमनामा गाईको हान्दा ७५ वर्षीय वृद्ध रामप्रसाद शिवकोटीको मृत्यु भएको छ। बुधबार गोठमा काम गर्ने क्रममा गाईले अचानक हानेर शिवकोटी घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल रंगेली अस्पताल लगिएको थियो, जहाँ प्रारम्भिक उपचारपछि उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो। तर, नोबेल अस्पतालमा पनि उपचार सम्भव नभएपछि परिवारजनले उनलाई घर फर्काउँदै गर्दा बिहीबार बाटोमै मृत्यु भएको थियो।
शिवकोटीको टाउको र छातीमा गम्भीर चोट लागेको थियो । घटनास्थलमा पुगेर इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा प्रहरी टोलीले अनुसन्धान शुरु गरेको छ।
शिवकोटीको मृत्यु भएपछि उनका परिवारजनहरूले शवलाई घरमै राखेका छन्। प्रहरीले घटनाबारे थप जानकारी संकलन गर्दै अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया