लुम्बिनी : पर्यटक सेवा सुधार गर्ने उद्देश्यले लुम्बिनी विकास कोषले ल्याएका अत्याधुनिक विद्युतीय सवारी साधन कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। यसले राज्यको सम्पत्तिमा नकारात्मक असर पारेको छ।
हालै वैशाख १३ गते लु१झ ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्र अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा अगाडिको भागमा क्षति पुगेको छ। यसअघि २०८० चैत २३ गते सोही भ्यानलाई अनधिकृत व्यक्तिले चलाइरहेको अवस्थामा स्थानीयले प्रहरीलाई बुझाएका थिए। भ्यानमा चालकसहित सवार दुई जना कोषका पदाधिकारी वा कर्मचारी थिएनन्।
कोषको सूचना शाखाका कर्मचारी राजन बस्नेतका अनुसार सोही सवारी साधन २०८० साउन १९ गते पनि अनधिकृत रूपमा चलाउँदा दुर्घटना भएको थियो। प्राविधिकहरूले भ्यान मर्मतका लागि रु २८ लाख खर्च लाग्ने अनुमान गरेका छन्।
बस्नेतले चलाएको उक्त सवारीको ठक्करबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–७ पक्डीहवाका ४० वर्षीय रविन्द्र यादव घाइते भएका थिए भने लु ३१प १८६ नम्बरको मोटरसाइकलमा ठूलो क्षति पुगेको थियो। यहाँ लु१झ ६९४ नम्बरको भ्यान पनि पछाडितर्फ ठोक्किएको अवस्थामा छ।
बस्नेतले थप जानकारी दिँदै भने, “कतिपय भ्यानको ढोकाको ह्यान्डल छैन भने कुनैको पाङ्ग्रा खोलिएको छ। लु१झ ६९५ नम्बरको भ्यानका चारवटै पाङ्ग्रा पञ्चर भएका छन्। पाँचवटा बसमध्ये चारवटाको एसी बिग्रिएको छ भने लु १झ ३८४ नम्बरको बसको अगाडिको सिसा फुटेको छ।”
एसियाली विकास बैंकको दक्षिण एशिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गत क्लिन इनर्जी योजनाबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत २०७९ जेठ १२ गते १९ वटा विद्युतीय सवारी साधन कोषको नाममा हस्तान्तरण भएका थिए। हाल विभिन्न दुर्घटनामा क्षतिग्रस्त भएका सवारी साधन तीमध्येकै हुन्।
लुम्बिनीमा ल्याइएका १४ वटा भ्यान र पाँचवटा विद्युतीय बस वातानुकूलित, अपाङ्गतामैत्री र स्वचालित ढोकायुक्त छन्। प्रत्येक बसमा १९ सिट र भ्यानमा पाँच सिट क्षमता रहेको छ। एकपटक चार्ज गरेपछि चार सय किलोमिटरसम्म गुड्न सक्ने यी सवारी साधनमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा पनि छ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले अदालतले सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गरी दाताको उद्देश्य अनुसार सञ्चालन गर्न एक महिनाको समयसीमा तोकेर परमादेश जारी गरे पनि उक्त समयसीमा नाघिसक्दा पनि अवस्थामा कुनै परिवर्तन नआएको बताए।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारी साधनलाई उद्देश्य अनुसार प्रयोगमा ल्याउन नसकिएको भए पनि अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको बताए। उनले अब हरियो प्लेट बनाएर उद्देश्य अनुसारको प्रयोगमा ल्याइने जानकारी दिए।
प्रतिक्रिया