इटहरी : सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने अभिव्यक्ति नदिन आदेश दिएको छ।
अधिवक्ता अनन्तराज लुइँटेल लगायतले दिएको अदालत अवहेलनासम्बन्धी निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले ‘न्यायिक प्रक्रियाको संवेदनशीलता विचार गर्न’ भनिएको आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, “अदालत समक्ष विचाराधीन मुद्दामा प्रतिकूल असर पर्ने गरी कुनै अभिव्यक्ति दिने कार्य नगर्नू, नगराउनू।”
सर्वोच्चले वैयक्तिक स्वतन्त्रता निरपेक्ष नहुने उल्लेख गर्दै संघीय संसद्को सदनभित्र समेत विचाराधीन मुद्दामाथि छलफल गर्न नपाइने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ।
गगन थापाले केही दिनअघि विचाराधीन मुद्दासम्बन्धी अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर अधिवक्ताहरूले अदालतको अवहेलना आरोपमा निवेदन दिएका थिए, जसमा सुनुवाइपछि अदालतले संवेदनशीलता अपनाउनुपर्ने आदेश दिएको हो।
प्रतिक्रिया